• २ चैत २०८१, शनिबार

एक सय चार जना शिक्षक सिफारिस

blog

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय ताप्लेजुङ। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २ गते। ताप्लेजुङका विद्यालयमा स्थायी नियुक्तिका लागि एक सय चार जना शिक्षक सिफारिस भएका छन्। शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरेका प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन्।

ताप्लेजुङका विभिन्न विद्यालयमा रिक्त रहेका तथा अस्थायी रूपमा कार्यरत शिक्षक भएका ठाउँमा स्थायी नियुक्तिका लागि उक्त सङ्ख्यामा प्राथमिक तहका शिक्षक सिफारिस भएका हुन्। शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका शिक्षकलाई रिक्त दरबन्दी तथा अस्थायी शिक्षक कार्यरत भएको ठाउँमा खटाउन लागिएको शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले जनाएको छ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख युगमणि सबेहाङका अनुसार प्राथमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्तिका लागि सिफारिस भएर आएका शिक्षकलाई जिल्लाका नौ वटै स्थानीय तहका विद्यालयमा पठाउन लागिएको छ। ताप्लेजुङका सिफारिस भएका १०४ जनामध्ये सबैभन्दा बढी २३ जना सिरिजङ्घा गाउँपालिकामा पठाउन लागेको एकाइ प्रमुख सबेहाङले जानकारी दिनुभयो।

उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिकामा १५ जना, पाथीभरा याङ्वरक गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकामा १४–१४ जना शिक्षक पठाउन लागिएको छ। यस्तै मिक्वाखोला गाउँपालिकामा १२ जना, मेरिङ्देन गाउँपालिकामा १० जना, सिदिङ्वा गाउँपालिकामा सात जना र मैवाखोला गाउँपालिकामा पाँच जना शिक्षक पठाइने भएको छ। सबैभन्दा कम फुङ्लिङ नगरपालिकामा चार जना शिक्षकको पदस्थापन गर्न लागिएको एकाइ प्रमुख सबेहाङले बताउनुभयो।

यता विभिन्न स्थानीय तहमा पदस्थापन हुने शिक्षकको सङ्ख्या टुङ्गो लागेसँगै स्थानीय तह पालिका रोज्नका लागि सिफारिस भई आएका शिक्षकहरूलाई सात दिनको समय दिइएको पनि शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। चैत १ देखि ७ गतेसम्म दिइएको समयभित्र शिक्षकले जान चाहेको अर्थात रोजेको पालिकामा स्थायी नियुक्तिका लागि पठाइने एकाइ प्रमुख सबेहाङले जानकारी दिनुभयो।