तिमालनारायण स्थापनाको तिथिमिति अनुमान गर्न दुई वटा शिलापत्र प्रकाशनमा आएका छन् । एउटा शिलापत्र सुरप्रभा बस्न्यातको तिमालनारायणकै मन्दिरमा रहेको थियो; जुन अहिले देखिँदैन । अर्को काठमाडौँको नारायणहिटी राजदरबारकोे प्रसिद्ध नारायण मन्दिरको बायाँपट्टि धौकलसिंह बस्न्यातको विसं १९५० को शिलापत्र हो ।
काभ्रेपलाञ्चोक जिल्लाको तिमाल तामाङ जातिको पुरानो सांस्कृतिक थलोका रूपमा परिचित छ । विक्रम संवत् १९०४ को बिएच हड्सनको हस्तलिखित ग्रन्थमा साँगादेखि पूर्व, तामाकोशीबाट पश्चिम, दोलखादेखि दक्षिण र ओखलढु्ङ्गाको मूर्तिढुङ्गादेखि उत्तरको भूभागलाई तिमाल भनिएको छ । यसबाट प्रारम्भमा तिमाल विशाल थियो भन्न सकिन्छ । मल्लकालमा काभ्रेको झिगुखोला, रोसीखोला र सुनकोशीको मध्य भागको तिमालडाँडामा प्राचीन तामाङ बस्ती रहेको छ भनी उल्लेख गरेको पाइन्छ ।
तिमालको नामकरणका सन्दर्भमा तीन वटा मत रहेको छ । एकाथरीका अनुसार तिमालका तामाङहरू घरलाई तिम भन्छन् । तिमालमा धेरै घर रहेकाले ‘तिम तिम’ भन्दाभन्दै तिमाल भएको हो भन्ने मत पनि रहेको छ । बौद्ध धर्मावलम्बीका अनुसार वज्रगुरु पद्मसम्भवले बौद्ध ग्रन्थहरू अर्थात् तेरमाहरू गुप्त रूपमा राख्नुभएको स्थान भएकाले ‘तेरमा तेरमा’ भन्दाभन्दै तिमाल भएको हो भन्दछन् । इतिहासकारहरूले मकवानपुरका सेन राजाहरूको जग्गाजमिनको तिरो भरो उठाउने माल कार्यालयहरू वा अड्डाहरू रहेका कारण पनि तिमाल भएको भन्ने गरेको पनि पाइन्छ ।
पुरानो प्रशासनिक विभाजन अनुसार काभ्रेपलाञ्चोक जिल्लाको मेथुनकोट, कानपुर–कालीपानी, सस्र्युंखर्क, समरथली, पोखरी नारायण, कुरुवास–चापाखोरी, पर्सेल, कटुन्जेबेँसी, बोल्देफेदिचे, मेच्छे–भोटेपाटीलगायत १० गाउँ विकास समितिका भूभागलाई तिमाल भनिन्थ्यो (पाश्र्व चित्र, २०५८, पृ.२) । हालको प्रशासनिक विभाजन अनुसार माथि उल्लिखित १० गाविस छिन्नभिन्न भएको अवस्था छ । यसका कारण वर्तमान तिमालको भूगोल सानो अनि टुक्रा टुक्रा हुँदै खण्डित भइरहेको छ । समुद्री सतहबाट २१३० मिटर उचाइमा रहेको तिमालडाँडालाई तामाङहरू आफ्नो आदिथलोका रूपमा मात्र नभई सांस्कृतिक उद्गमस्थलका रूपमा स्विकार्छन् । अर्कातिर तामाङहरू आफूले मान्ने लामा बौद्ध धर्मको पवित्र सम्पदाहरू रहेको स्थल पनि मान्दछन् । प्राकृतिक रूपमा पनि सुन्दर तिमाल डाँडाबाट दक्षिणतर्फ हेर्दा महाभारत शृङ्खला तथा रोसीखोला पर्छ । पूर्वतर्फ सुनकोसी नदी र उत्तरतर्फ सगरमाथालगायत विभिन्न हिमशृङ्खला तिमालबाट अवलोकन गर्न सकिन्छ । त्रिभुवन राजपथ नखुलुन्जेल र आन्तरिक हवाई सेवा सुरु नहुन्जेल काठमाडौँ उपत्यकाको दक्षिणपूर्वी द्वारका रूपमा तिमाल रहेको थियो ।
नेपाल एकीकरण हुनुअघि व्यापारिक र सामरिक दृष्टिले पनि तिमाल महत्वपूर्ण क्षेत्र थियो । त्यसैले गोर्खा राज्यको विस्तारका क्रममा काठमाडौँ उपत्यकालाई नाकाबन्दी गर्ने योजनासहित मकवानपुर अधीनमा लिइएको थियो । त्यसपछि तिमालमा पटक पटक आक्रमण गर्दासमेत जित्न नसकेपछि तामाङ राजा रेन्जिन दोर्जेलाई मित लगाउने बहानामा षड्यन्त्रपूर्वक १८१९ आश्विन २ गते हत्या गरेर तिमाल कब्जा गरेका थिए (तामाङ, २०५८, पृ. २७–२९) । लिच्छविकालमा नालन्दा विश्वविद्यालयका पद्मसम्भवलगायत विद्वान्हरू तिमाल भएरै भोटमा बौद्ध धर्मको प्रचार गर्न गएका थिए (तामाङ, २०६५, पृ. ३५–४०) । यसका कारण तिमालमा गुरु पद्मसम्भवले तप गरेको तोमसोम गुफा रहेको पाइन्छ । बौद्ध धर्ममा अति महत्त्व राख्ने बुद्धचित्त मालासमेत तिमालमा प्रशस्त पाइन्छ । कुल जनसङ्ख्याको ९० प्रतिशत बौद्ध धर्मावलम्बी रहेको तामाङहरूको बसोवास रहेको तिमालमा हिन्दुहरूको पवित्र देवता नारायणको मन्दिरसमेत छ । यसलाई तामाङहरूले पनि अति नै श्रद्धा र सद्भावका साथ पूजा गर्ने मात्र नभई यस मन्दिरमा जात्रासमेत मनाउने गर्छन् ।
तिमालमा नारायण मन्दिर
तिमालको उच्च स्थानमा रहेको जङ्गलबिच तिमालनारायण मन्दिर रहेको छ । बौद्ध धर्मावलम्बी तामाङ जातिको आदिभूमि तिमालमा हिन्दु देवता नारायणको मन्दिर निर्माण कसरी हुन गयो भन्ने खोज अध्ययन अनुसन्धान गर्दा यसप्रकार ऐतिहासिक घटना प्राप्त हुन आएको छ । घटना अनुसार नेपालका राजाहरूको दरबार रहेको नारायणहिटी इलाकामा पहिले खेत थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहका सेनापति काजी शिवरामसिंह बस्न्यात थिए । उनका कान्छा छोरा काजी (मन्त्री) धौकलसिंह (घोकल) बस्न्यात हुन्; जसले राजा रणबहादुर शाहबाट अनुमति लिएर आफ्नो लागि वर्तमान नारायणहिटी रहेको स्थानमा भव्य निवास बनाउन लगाए । विसं १८५० को वसन्तपञ्चमीका दिनमा घोकलसिंह उक्त निवासमा बसोबास गर्न थाले । निवासको नाम कीर्ति मन्दिर राखियो । मन्त्री धौकलसिंह बस्न्यातकी माता सुरप्रभा बस्न्यात नारायण भगवान्को भक्त थिइन् । यसका कारण माता सुरप्रभाले छोराले बनाएको कीर्ति मन्दिरको साथमा एउटा नारायण मन्दिर श्रीमान् शिवरामसिंह बस्न्यातको स्मृतिमा निर्माण गर्ने इच्छा गरिन् । ज्योतिषीहरूसँगको परामर्श अनुसार नारायणको मूर्ति सिन्धुली इलाकामा निर्माण गर्न लगाइन् । मूर्ति निर्माण भएपछि प्रतिस्थापनका लागि उनले सिन्धुली, खुर्कोट, तिमाल इलाका हुँदै काठमाडौँमा ल्याउने आदेश दिइन् ।
सिन्धुलीबाट उक्त नारायणको मूर्ति ल्याउन सात जना भरिया खटिए । उनीहरूले विभिन्न स्थानमा बास बस्दै नारायणको मूर्ति हाल नारायण रहेको स्थान अर्थात् तिमालडाँडामा ल्याइपु¥याए र उनीहरू त्यहाँ सदा झैँ बास बसे । भोलिपल्ट बिहान खानपिनपछि तामाङ भरियाहरूले नारायणको मूर्ति बोकेर हिँड्न लाग्दा मूर्ति कति गह्रुँ्गो भयो भने कसै गरी पनि बोकेर ल्याउन सकेनन् । त्यो खबर नारायणहिटीमा रहेको कीर्ति निवासमा रहेको सुरप्रभासम्म पुग्यो । सुरप्रभाले यस्तो खबर सुनेपछि उनलाई रातमा निद्रा पर्न गाह्रो भयो । त्यस रातमा माता सुरप्रभालाई सपनामा नारायण भगवान्ले दर्शन दिए र भने, “मलाई तिमालडाँडामै बस्ने इच्छा भयो, त्यसैले तिमालमै मेरो लागि मन्दिर बनाई स्थापना गरिदेऊ ।” यसका कारण माता सुरप्रभाले तिमालमा नारायणको मन्दिर निर्माण गर्न लगाइन् (बस्न्यात, २०८० पृ. ४) । उक्त मन्दिरमा सोही नारायणको मूर्तिको पुजारीद्वारा पूजाआजा गरेर प्राणप्रतिष्ठा गर्न लगाइन् । यसरी तिमालमा नारायण मन्दिर स्थापना गरेको दिन भदौ जनैपूर्णिमा परेको थियो । यसका कारण आज पनि तिमालनारायणको मन्दिरमा जनैपूर्णिमाका दिन जात्रा लाग्ने परम्परा छ । यस घटनाका कारण नारायणहिटीको कीर्ति मन्दिरका लागि ज्योतिषीहरूकै सुझाव अनुसार काठमाडौँको दक्षिणपूर्व दिशा अर्थात् गोदावरीबाट अर्को नारायणको मूर्ति निर्माण गरी ल्याएर प्रतिस्थापित गरियो; जो अद्यापि छँदै छ (बस्न्यात, २०८० पृ. ४) । त्यसो त तिमालनारायणको उत्पत्तिको विषयमा तामाङ लोककथा पनि रहेको छ ।
तिमाल जात्रा
तिमालनारायणस्थानमा लाग्ने जात्रालाई तिमाल जात्राका रूपमा समेत मानिन्छ । तिमालनारायणको मेलामा तिमालनारायणको मूर्तिको फुटेको नाकलाई घिउ लेपेर जस्ताको तस्तै बनाइन्छ । जात्राको अघिल्लो दिन अर्थात् जनैपूर्णिमाको अघिल्लो रात मन्दिरमा तिमाल र यसका वरिपरिका भेगबाट बौद्ध र हिन्दु धर्मावलम्बी श्रद्धालु भक्तजन भेला हुन्छन् । मादल बजाएर गीतहरू गाएर भक्तजनहरू रातभर जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट तिमालनारायणको दर्शन, पूजन र मेला भर्ने गरिन्छ । यसरी नारायणको मेला भरेमा भक्तजनको बल, बुद्धि, ऐश्वर्य प्राप्त हुन्छ भन्ने मान्यता रहेको स्थानीय बताउँछन् ।
मन्दिरको वास्तुकला
गन्धकुट शैलीको तिमालनारायण मन्दिर वनको बिचमा छ । तिमालका भक्तजनका अनुसार वनका वृक्षहरू नारायण मन्दिरतर्फ ढल्केका छन् । नारायणको मन्दिरमा पुग्न सिँढीहरू चढ्नु पर्छ । चारैतिर मन्दिरभित्र पश्चिमाभिमुख चार हातको नारायणको मूर्ति कालो चिल्लो ढुङ्गाबाट निर्माण गरिएको छ । मूर्ति अवलोकन गर्र्दा मूर्तिको नाकमा चोट लागेको देखिन्छ । मन्दिरको ढोकाको ठिकअगाडि दुई वटा ठुला ठुला घण्ट र एउटा विशाल त्रिशूल रहेको छ । मूल मन्दिरवरिपरि पाटीहरू रहेका छन् । मन्दिरको दक्षिणतर्फ लक्ष्मीको मन्दिर पनि छ । मन्दिरको एउटा घण्टमा भीमराज लामाको नाम उल्लेख हुनुले तिमालका तामाङहरूको नारायण मन्दिरप्रति अगाध स्नेह रहेको प्रस्ट हुन्छ । यसै गरी पश्चिमतर्फ रहेको गरुडको मूर्ति पूर्वतर्फ रहेको छ ।
नारायणसम्बन्धी शिलापत्र
तिमालनारायण स्थापनाको तिथिमिति अनुमान गर्न दुईवटा शिलापत्र प्रकाशनमा आएका छन् । एउटा शिलापत्र सुरप्रभा बस्न्यातको तिमालनारायणकै मन्दिरमा रहेको थियो; जुन अहिले देखिँदैन । अर्को काठमाडौँको नारायणहिटी राजदरबारको प्रसिद्ध नारायण मन्दिरको बायाँपट्टि धौकलसिंह बस्न्यातको विसं १९५० को शिलापत्र हो ।
दोस्रो वाणी विलास पाण्डेद्वारा रचित शिलापत्रको संस्कृत श्लोक र हिन्दी भाषाका दोहाहरूको व्याख्या गर्दै धनवज्र वज्राचार्य र टेकबहादु्र श्रेष्ठ (२०५७) ले नेपालको एकीकरण अभियानमा गोर्खाका राजा पृथ्वीनारायण शाहलाई हरकिसिमको साथ दिने उनका विश्वस्त भारदारहरूमा शिवरामसिंह बस्न्यातका छोराहरू पनि थिए । विसं १८०३ मा साँगाचोकको लडाइँमा शिवरामसिंह बस्न्यातको मृत्यु भएको थियो । लडाइँमा मर्ने सैनिकका सन्तानको पालनपोषणको अभिभारा सरकारले लिने नीति पृथ्वीनारायण शाहले लिएका थिए । यसो हुँदा शिवरामसिंहका छोराहरू पृथ्वीनारायण शाहको रेखदेखमा हुर्के । शिवरामसिंहका नाहरसिंह, केहरसिंह, अभिमानसिंह र धौकलसिंह बस्न्यात गरी चार छोरा थिए । चारै छोरा एकसे एक लडाका, राजनीतिज्ञ र स्वामीभक्त भई निस्के । यिनमा केहरसिंह र अभिमानसिंहको योगदान अझ बढी रह्यो । उनै शिवरामसिंह बस्न्यातका कान्छा छोरा धौकलसिंह बस्न्यातले कीर्तिमन्दिर बनाई राख्न लाएका हुन् । घौकलसिंह कान्छा हुनाले पृथ्वीनारायण शाहताकाका युद्धमा यिनले भाग लिएको विशेष उल्लेख पाइँदैन । विसं १८२६ मा भक्तपुरमा आक्रमण गर्दा भने धौकलसिंह बस्न्यात पनि सम्मिलित भएको कुरा ललितावल्लभको भक्त विजय काव्यबाट थाहा पाइन्छ ।
यस अभिलेखमा पनि प्रभावशाली मन्त्री (काजी) का रूपमा धौकल सिंहको वर्णन गरिएको छ । राजा रणबहादुर शाहबाट बकस पाएको जग्गामा धौकलसिंहले कीर्ति मन्दिर बनाएको वर्णन यसमा परेको छ । ‘...धौकलसिंह बस्नेत श्रीपाली बस्नेत हुन् । उनका पिता शिवरामसिंह बस्नेतले साँगाको लडाइँमा वीरगति प्राप्त गरेको उल्लेख छ । ....उनी लडाका थिए भन्नेबाहेक उनी सुन्दर जिउडालका थिए, युवतीहरू उनलाई देखेर मुग्ध हुन्थे भन्ने भाव व्यक्त गरिएको छ । हँसिलो मुख भएका ...आकर्षक व्यक्तित्व भएका थिए’ (वज्राचार्य, श्रेष्ठ, शाहकालका अभिलेख, २०३७, पृ. २०७–१३ ) ।
यसबाट पनि तिमालनारायणको मन्दिरको स्थापना विसं १९५० भन्दा केही समयपूर्व भएको हुन सक्छ भन्न सकिन्छ । यसको थप पुष्टि ‘श्रीपाली बस्न्यातहरूको परिचय’ नामक पुस्तकमा साँगाचोकको पराजयले राजा पृथ्वीनारायण शाहलाई जति दुःखित तुल्यायो, त्योभन्दा बढी दुःखित यिनलाई आफ्ना सेनापति शिवरामसिंह बस्न्यातको मृत्युले तुल्यायो । वीराङ्गना सूरप्रभा बस्न्यातले आफ्ना दिवङ्गत पति शिवरामसिंह बस्न्यातको चिर स्मृतिमा काभ्रेपलाञ्चोक जिल्लास्थित ‘तिमाल’ भन्ने स्थानमा एउटा नारायणको मन्दिर निर्माण गरे । प्रत्येक वर्ष भदौ जनैपूर्णिमाको अघिल्लो राति बत्ती बाली जात्रा मनाउने चलन बसालिन् (बस्न्यात, २०५८, पृ. १७) भनेर उल्लेख भएबाट पनि हुन्छ ।
तामाङ लोककथा
धेरै पहिलेको कुरा हो । तिब्बत (बोई) बाट बल थरी तामाङहरू नेपाल पसे । उनीहरूले आफ्ना कुलदेवतालाई माछा चढाउनुपर्ने भएकाले सुनकोशीको तिरैतिर लागेर असला माछा समाते । अनि खाम्सुङ भन्ने स्थानमा रमेर बस्न थाले ।
त्यहाँ रहँदा उनीहरूले प्रशस्त गाई पालेका थिए । तीमध्ये एउटा गाईले आफ्नो बाच्छाबाच्छीलाई समेत दुध दिन छोड्यो तर कल्चौँडामा भने टन्न दुध हुन्थ्यो । के भएको होला ? भनेर बल म्हेम्हे (बाजे) ले चियोचर्चो गरे । उनी झाँक्रीसमेत थिए ।
गाईले सल्लाको रुखको फेदमा गएर सधैँ दुध दिने गरेको थाहा पाए । अर्को दिन उनले गाउँलेलाई वनमा भेला गरेर चिन्तन गर्न थाले । मन्त्रहरू फलाके । चोखो पानी चढाए, धुपधुँवार गरे । अनि अक्षताले सल्लाको रुखमा हान्दै “भगवान् भए बोल, भूत भए भाग” भने । अनि अक्षताले सल्लाको रुखबाट ‘म वनदेवता हुँ’ भन्ने आकाशवाणी आयो । अनि बल म्हेम्हेले वनदेवताको थान बनाई पूजाआजा गर्न लगाए ।
यसै घटनाका आधारमा सल्ले वनदेवता उत्पत्ति भएको सोही स्थानमा पछि नारायणको मन्दिर बन्यो । तिमालनारायणको मन्दिर रहेको स्थानमा अझै पनि सल्लाका रुखहरू बाक्लै छन् । यहाँ हरेक वर्ष भाद्र पूर्णिमाका दिन तामाङहरूले भव्यताका साथ मेला भर्ने गरिरहेका छन् ।