• २९ फागुन २०८१, बिहिबार

मङ्गलामा एक सय १६ बढी योजना कार्यान्वयनमा

blog

सडक निर्माण हुँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन २९ गते । म्याग्दीको मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१-०८२ मा विनियोजन गरेका एकसय १६ सहित गौरबका योजना कार्यान्वयन हुने भएकाे छ । 

संघीय, प्रदेश र गाउँसभाबाट  बजेट विनियोजन भएका विकास योजनाहरू ठेक्का सम्झौता भई निर्माण सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पूर्वाधार विकास तर्फका ६ वटा गौरबका ठुला योजना छनाेट गरी कार्यान्वयन सुरु गरेको छ । 

सङ्घीय सरकारको विशेष,शर्सत र समपुरक अनुदानबाट सडक स्तरोन्नति तर्फका दुई वटा ठुला योजना कार्यान्वयन सुरु गरिएको छ । गाउँपालिकाले सङ्घीय समपुरक योजना अन्तर्गत सबैभन्दा ठुलो योजनाका रूपमा सिम–कोत्रबाङ–खुम्लीया–पैयुपाटा–कुहुँ पुर्णगाउँ–टोड्के सडक स्तरोन्नतिका लागि चारकरोड ४० लाख रुपियाँ लागत अनुमान गरिएको उक्त सडक योजना ३ करोड १३ लाख ६८ हजार एक सय ४९ रुपियाँमा ठेक्का सम्झौता भई काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।  

यसैगरी ३ करोड ४० लाख बजेट रहेको पुलचोक–पिपलबोट–पाँखु–धारा–सिरकुम–टिकाबाङ सडक स्तरोन्नति सुरु भएको उहाँले जानकारी दिनुभयो । 

प्रदेश समपूरक योजनाबाट गण्डकी प्रदेश सरकारको ६० लाख र गाउँपालिकाको ४० लाख बजेट रहेको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुला–सडक स्तरोन्नति योजनामा धमाधम निर्माण कार्य भैरहेको छ भने प्रदेश विशेष अनुदान अन्तगर्त महेन्द्ररत्न मावि बरंजाको छात्रावास भवन क्रमागत योजनाका लागि प्राप्त ४३ लाख रुपियाँ बजेटको काम सम्पन्न भएको छ ।  

संघीय विशेष अनुदानबाट २ करोड ६५ लाख बजेटबाट मङ्गला शिक्षा क्याम्पसमा छात्रावास भवन बनाउने योजना समेत अघि बढाएको छ । संघीय ससर्त योजना अन्तगर्त ८० लाख बजेट रहेको मङ्गला–५ को डिही किरियापुत्री भवन निर्माण योजना ठेक्का मूल्याङ्कनको चरणमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, ‘‘गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि विनियोजन गरेका विकास योजना तथा कार्यक्रमहरू, सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा विनियोजन भएका योजनाहरु  कार्यान्वयन सुरु गरेका छौं । गाउँपालिकाबाट विनियोजन भएका ठुला योजनाहरू समेत ठेक्का प्रक्रियाबाट कार्यान्वयन थालेका छौं । आगामी जेठ महिनाभित्र नै निर्माण सम्पन्न गर्ने पालिकाको लक्ष्य छ ।’’

सिम–कोत्रबाङ–खुम्ल्याह–पैयुपाटा–कुहुँ–पूर्णगाउँ–टोड्के सडक स्तरोन्नति गर्ने सङ्घीय समपूरक बजेट अन्तर्गत सङ्घीय सरकार र गाउँपालिकाको ५०÷५० प्रतिशत लागत साझेदारी रहेको यस योजनाका लागि त्रिशक्ती कन्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि.ले ३ करोड १३ लाख ६८ हजार १४९ मा ठेकका सम्झौता गरेर कार्यक्षेत्रमा परिचालन भएको छ । 

सिमचोकबाट सडक फराकिलो बनाउने, ग्याविन पर्खाल लगाएर स्तरोन्नति गर्न थालिएको यस योजनामा यसवर्ष तीन सय ५० मिटर सडक ढलान हुनेछ । सिमचोक, पातलको उकालो, कुहुँ र पूर्णगाउँ क्षेत्रमा सडकमा ग्याविन जाली लगाउने, मेसिनरी पर्खाल निर्माण गर्ने र सडक सुरक्षाका काम गरेर सडकलाई स्तरोन्नती गरिने गाउँपालिकाका सब–इन्जिनियर विपिन आचार्यले जानकारी दिनुभयो । 

गाउँपालिकाको केन्द्र बावियाचौरदेखि वडा नम्बर २ को हिँदी जोड्ने बावियाचौर–काफलचौर–सल्यान–भर्जुला हिदी सडकखण्डको भाइबाङ्गखोला काफलचौर खण्डमा सडक ढलान गर्न थालिएको छ । कुल  १ करोड बजेट विनियोजन भएको यस योजनामा ठेक्का मार्फत  ९४ लाखमा ठेक्का लिएको मङ्गला कन्स्ट्रक्सन प्रा.लिले सडक ढलानको कामलाई तिब्र बनाएको छ । एक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको निर्माण कम्पनीले ग्याविन जाली, मेसिनरी पर्खाल र प्लम पर्खाल लगाएर सडक ढलानको काम अघि बढाएको गाउँपालिकाका असिस्टेन्ट सब इन्जिनियर आचार्यले जानकारी दिनुभयो। 

पुलचोक–पिपलबोट–पाँखु–धारा–शिरकुम–टिकाबाङ मोटरबाटो स्तरोन्नति योजनामा ठेक्का लिएको डिभाइनलाइट आचार्य मङ्गला जेभीले ५० प्रतिशत निर्माण कार्य सकेको छ । 

पिपलबोट क्षेत्रमा सडकलाई फराकिलो बनाएर ग्याविन जाली, प्लम पर्खाल, मेसिनरी पर्खाल लगाएर सडकलाई ग्राभेल सहित स्तरोन्नती गर्ने र मुहानेको उकालोमा करिब दुई सय मिटर सडक ढलान गरिने गाउँपालिकाका सब इन्जिनियर रुचेन्द्र अधिकारीले जानकारी दिनुभयो । 

मङ्गला शिक्षा क्याम्पसको छात्रावास भवनको ठेक्का लिएको आचार्य मङ्गला जेभीले गत वर्ष निर्माण सुरु भएको भवनलाई पूर्णता दिने र नयाँ एक तले भवन बनाउने कामलाई तिब्रता दिएको छ । 

गाउँपालिकाले यस वर्षमा कुल ११६ वटा पूर्वाधार निर्माणका योजना कार्यान्वनयमा ल्याएकोमा अहिलेसम्म ७१ वटा योजनाको सम्झौता भएको र ४५ वटा सम्झौताको चरणमा रहेको प्रशासकीय अधिकृत सुदर्शन पौडेलले जानकारी दिनुभयो । बाँकी रहेका योजनाहरूको लागत स्टिमेट तयार गर्ने काम भैरहेको उहाँले बताउनुभयो ।