• २९ फागुन २०८१, बिहिबार

घामसँगै हौसिन्छन् लोकबहादुर, सेतै फुल्छ डाँडाबारी

blog

साहारा लिम्बू 

फुङ्लिङ, फागुन २९ गते । हरेक दिनको सङ्केत बिहानीले गरे झैँ लोकबहादुर मगरको भाग्य पनि प्रत्येक दिन लाग्ने घामले निर्धारण गरेको हुन्छ । लोकबहादुरलाई लाग्छ घाम कहिले नअस्ताओस् । जब जब घामको सट्टा पानी पर्छ उहाँ बेरोजगार हुन पर्छ । उहाँको एउटै रोजगारी हो नेपाली हाते कागज ।  

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६, डाँडाबारीका लोकबहादुरले नेपाली हाते कागज बनाएर नै आफ्नो परिवारको गुजार चलाइराख्नुभएको छ । हुन त उहाँको जन्मथलो तेह्रथुमको खाम्लालुङ हो तर नेपाली हाते कागजले कर्मथलो फुङ्लिङ नगरपालिकाको डाँडाबारी बनाइदियो । विगत ३५ वर्षदेखि लोकबहादुर नेपाली कागजसँग चिर परिचित हुनुहन्छ र फुङ्लिङको डाँडाबारीलाई २१ वर्षअघिदेखि उहाँले कर्मथलो बनाउनुभएको छ । उहाँ भन्नुहुन्छ, “अब त यहीको स्थायी बासिन्दा भइयो ।” 

नेपाली हाते कागजबाट महिनामा ३० देखि ४० हजार रुपियाँसम्म आम्दानी गर्ने उहाँ बताउनुहुन्छ । यही नेपाली हाते कागजबाट सात जनाको परिवार चलिरहेको लोकबहादुर सुनाउनुहुन्छ । जति आफूले कागज बनाउन सक्यो उति आम्दानी हुने उहाँको भनाइ छ तर यसका लागि घाम लाग्न आवश्यक छ । घाम राम्रै लागेको खण्डमा उहाँले दिनमा चार सय वटासम्म कागज बनाउनुहुन्छ । 

यस्तै वीरबहादुर केदेमले पनि नेपाली हाते कागजकै उद्यम गरेको सात वर्ष भएको छ । उहाँ पनि फक्ताङ्लुङ गाउँपालिकाबाट यही उद्यमका लागि डाँडाबारीको बासिन्दा भइसक्नुभएको छ । उहाँहरू छिरिङ नेपाली हाते कागज उद्योगमा काम गर्नुहुन्छ । 

उक्त कागज उद्योगका सञ्चालक हुनुहुन्छ पासाङलाक्पा शेर्पा । उहाँले बुवाको पेसालाई अँगालेर यहाँसम्म पुगेको बताउनुहुन्छ । जन्मथलो भोजपुरदेखि नै उहाँ नेपाली हाते कागज उद्योगमा संलग्न हुनुहुन्छ । नेपाली हाते कागज उद्योगमा अवसर भए पनि कच्चा पदार्थ, पानीको अभावका कारण एक ठाउँबाट अर्को ठाउँ सर्न बाध्य भएको उहाँको भनाइ छ । नेपाली हाते कागज लोकताको बोव्रmा, अग्रेली र सिव्रmेबाट बन्छ । यिनीहरूलाई एक पटक काटिसके पछि पलाउन धेरै समय लाग्ने भएका कारण पनि अभाव हुने गरेको शेर्पा बताउनुहुन्छ । छिरिङ नेपाली हाते कागज उद्योगमा लोकबहादुर र वीरबहादुर सँगै पाँच परिवार आबद्ध छन् । उहाँले उक्त उद्योगबाट वार्षिक १० लाखसम्म आम्दानी हुने बताउनुभयो । उहाँका अनुसार सामुदायिक वनलाई छट्टै र डिभिजन वन कार्यालयलाई छट्टै राजस्व बुझाउँदै आउनुभएको छ । शेर्पाकोे उद्योगमा बनेको कागज काठमाडौँ जान्छ तर कागज गुणस्तरीय भने हुनु आवश्यक भएको उहाँको भनाइ छ । यसअघि लोकताको सट्टा केही उद्योगले परालबाट गुणस्तरहीन कागज बनाएका कारण पनि आफूहरूको जस्तो उद्योग धरापमा परेको सुनाउनुभयो । नेपाली हाते कागजको राम्रो माग भए पनि उद्योगीहरू पलायन हुन थालेको शेर्पा बताउनुहुन्छ । 

२०४१ सालयतादेखि घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमा २७ वटा नेपाली हाते कागज उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग ताप्लेजुङका सूचना अधिकारी नवीन भट्टराईले बताउनुहुन्छ ।  अहिले भने जिल्लामा चार वटा उद्योग मात्र सञ्चालनमा रहेका छन् । सिदिङ्वा गाउँपालिका–१, कालीखोलामा कालीखोला नेपाली हाते कागज उद्योग, मैवाखोगा गाउँपालिका–३, साँघुमा गोरुजुरे नेपाली हाते कागज उद्योग, सिरिजङ्घा गाउँपालिकाको खेबाङमा एक र छिरिङ नेपाली हाते कागज उद्योग गरी जम्मा चार वटा उद्योग सञ्चालनमा रहेका छन् ।