काठमाडौँ, फागुन २८ गते । पछिल्लो समय होली पर्व धुमधामसँग मनाउने प्रचलन बढ्दो छ । आफ्न्त एकै ठाउँमा भेला भएर एक अर्कोलाई रङ लगाएर मिठोमिठो खाएर यो पर्व मनाउने गरिन्छ । फागु पूर्णिमाका दिन साना बालबालिकादेखि वृद्धवृद्धासम्म होलीको रङमा रङ्गिने गर्दछन् । पछिल्लो समय होली खेल्दा प्रयोग गरिने रङ रसायनयुक्त हुने हुँदा सचेत रहन चिकित्सकले सुझाव दिएका छन्।
छालारोग विशेषज्ञ डा.प्रज्वल पुडासैनी होलीमा प्रयोग हुने रङमा विभिन्न किसिमका रसायनको प्रयोग हुने बताउनुहुन्छ । रसायनयुक्त रङले शरीरमा नकारात्मक असर पार्ने उहाँको भनाइ छ । उहाँका अनुसार होलीमा प्रयोग हुने रङले शरीरमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने गर्छ । रसायनयुक्त रङले विशेषगरी छाला, कपाल, आँखा, श्वासप्रश्वास फोक्सो, मिर्गौला लगायतका विभिन्न अङ्गमा नकारात्मक असर पुर्याउने उहाँ बताउनुहुन्छ ।
रङमा कस्तो रसायन मिसाइन्छ
जति गाडा रङ त्यतिनै हानिकारक हुने डा.पुडासैनीको तर्क छ । होलीमा प्रयोग हुने रातो, कालो, हरियो, निलो, गुलाबी, बैजनी, ग्लिटरयुक्त रङ, सेतो रङमा बढी रसायन मिसाइएको हुन्छ । होलीमा प्रयोग हुने सेतो, रातो, हरियो, निलाे, कालो रङमा मर्करी, कपर, लिड जस्ता रसायन मिसाइएको हुने चिकित्सक बताउँछन् ।
छाला रोग विशेषज्ञ प्रा.डा.सविना भट्टराईका अनुसार रातो रङमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, निलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्त्व मिसाइएको हुन्छ । त्यस्तै टल्कने रङ अर्थात् ग्लिटरमा कतिपयमा सिसा लिड र टल्कने सिलिकाको प्रयोग गरेको पाइएको छ ।
केमिकलले स्वास्थ्यमा कस्तो असर गर्छ ?
रङमा मिसाइएका रसायनिक तत्त्वले छाला, आँखा, कान, फोक्सो, मिर्गौला लगायत शरीरका विभिन्न अङ्गमा नकारात्मक असर पुर्याउने डा.पुडासैनी बताउनु हुन्छ ।
होलीमा प्रयोग हुने रङले सामान्य एलर्जी हुनेदेखि छाला चिलाउने, पोल्ने, फोका आउने, दुख्ने, घाउ आउने, सेतो दुवी बढ्ने, कपाल टुक्रने जस्ता समस्या निम्त्याउने उहाँको भनाइ छ । होली लगतै छाला रातो हुने, चिलाउने, पोल्ने, रातो डाबर आउने, एलर्जी हुने जस्ता छाला सम्बन्धी समस्या लिएर बिरामी अस्पतालमा आउने उहाँ बताउनुहुन्छ ।
आँखामा रङ पसेमा आँखा चिलाउने, रातो हुने, पानी बग्ने जस्ता तत्कालीन समस्या देखिने उहाँले जानकारी दिनुभयो । त्यस्तै रङ कानमा पसेमा कान चिलाउने र पछि गएर कान पाक्ने उहाँ बताउनुहुन्छ । त्यो, बाहेक रसायनयुक्त रङले छालाको क्यान्सर, नसा सम्बन्धी समस्या, कलेजो फोक्सो, मिर्गौलामा दीर्घकालीन असर निम्त्याने उहाँले जानकारी दिनुभयो ।
कसले हाेली नखेल्ने ?
दीर्घ रोगका बिरामीलाई हाेली नखेल्न चिकित्सक सुझाव दिन्छन् । मिर्गौला, दम, क्यान्सर, फोक्सोका बिरामीलाई रङका कर्णले असर गर्ने हुँदा सचेत हुनुपर्ने डा.पुडासैनीको भनाइ छ । छालामा घाउ भएका, गर्भवती, बालबालिलाई गाढा रङको प्रयोगबाट टाढै राख्नुपर्ने उहाँ बताउनुहुन्छ । यस्ता मानिसको छाला पातलो हुने हुँदा रङमा मिसाइएको रसायन छालाबाट भित्र पसेर शरीरका विभिन्न अङ्गमा असर गर्ने गर्छ ।
कस्तो रङ प्रयोग गर्ने ?
डा.पुडासैनीका अनुसार झोल रङ निकै हानिकार हुन्छ। पाउडर रङमा केमिकल भए नभएको जाँच गर्न सकिने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ,“पाउडर रङ किनेर पानीमा राम्रोसँग घुलियो भने केमिकल कम मिसाएको भन्ने मानिन्छ । रङ राम्रोसँग घोलिएन भने केमिकल मिसाएको हुन्छ ।”
धेरै चम्किलो रङ, मट्टीतेल, मोबिलको गन्द आउने रङ प्रयोग सकेसम्म नगर्न उहाँको सुझाव छ । डा. पुडासैनीका अनुसार बास्नादार रङले छालामा गम्भीर प्रकारको एलर्जीदेखि क्यान्सर नित्याउन सक्छ । होलीमा सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नु उचित हुने उहाँको सुझाव छ । सयपत्री फूल पिसेर बनाइएको रङ, मेहन्दीको रङ, बेसार पनि होलीमा रङका रूपमा प्रयोग गर्न सकिने डा.पुडासैनी बताउनुहुन्छ ।
होली खेल्दा ध्यान दिनुपर्ने कुरा
होलीको रङले बढी असर पार्ने टाउको, मुख, शरीरको अन्य भागमा विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । सकेसम्म आँखा, कान तथा मुखमा रङ लाग्नबाट जोगाउनुपर्छ । होली खेल्नु भन्दा अगाडि टाउकोमा तेल लगाउने, अनुहारमा धेरै म्वाइस्चराइजर, सन बल्क क्रिम लगाउन चिकित्सकको सुझाव छ । छालामा एलर्जी भए होलीमा रङ नखेल्न चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार एलर्जी भएमा तुरून्त छाला सफा गर्नुपर्छ । रङ फालेर छाला सफा भएपछि तेल र म्वाइस्चराइजर क्रिम लगाउने गर्नुपर्छ । एलर्जीले धेरैनै गाह्रो भएमा चिकित्सकलाई देखाउनु पर्छ ।
होलीको रङ जबरजस्ती ननिकाल्न चिकित्सकको आग्रह छ । रङ जबरजस्ती माडेर निकाल्दा झन जटिल समस्या निम्तने हुन्छ । तेल क्रिम लगाएर होली खेलेमा होली खेलिसकेपछि रङ निकाल्न सजिलो हुने डा.पुडासैनीको तर्क छ ।