काठमाडौँ, फागुन २६ गते । श्रीलङ्कामा फागुन २७ देखि चैत ५ गतेसम्म आयोजना हुने एसियन जोनल ३.२ बुद्धिचाल च्याम्पियनसिपमा भाग लिन नेपाली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।
वर्ल्ड चेस फेडेरेसन (फिडे) र एशियन चेस फेडेरेसन (एसिएफ) को तत्त्वावधान तथा श्रीलङ्का चेस फेडेरेसनको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीले प्रतिस्पर्धा गर्नुहुनेछ । दुवै खेलाडी नेपाल च्याम्पियन हुनुहुन्छ ।
च्याम्पियन्सिपमा आयोजक श्रीलङ्कासहित नेपाल, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स र भुटानको सहभागिता रहनेछ । च्याम्पियन्सिपमा पुरुषमा ३६ र महिलामा २१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
नवौँ चरणसम्म चल्ने च्याम्पियनसिपको पहिलो ४० चालका लागि ९० मिनेटको समय निर्धारण गरिएको छ । ३० मिनेट ३० सेकेन्ड इन्क्रिजमेन्ट थप हुने नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले जानकारी दिनुभयो । च्याम्पियनसिपमा शीर्ष ६ पुरुष र महिला खेलाडीले ६ हजार एक सय ५० अमेरिकी डलर पुरस्कार पाउनेछन् ।
पुरुषतर्फ विजेताले १५ सय, दोस्रोले १ हजार र तेस्रोले पाँच् सय डलर प्राप्त गर्नेछन् । महिलातर्फको विजेताले एक हजार, दोस्रोले ६ सय र तेस्रोले चार सय डलर पुरस्कार पाउने छन् ।
नेपाली खेलाडीलाई सोमबारनै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकारलगायतले बिदाइ गर्नुभयो ।