• २६ फागुन २०८१, सोमबार

बाँकेबाट १० हजारभन्दा बढी विद्यार्थीले एसइई दिँदै

blog

शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय बाँकेको कार्यालय । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, फागुन २६ गते ।
आगामी चैत ७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बाँके जिल्लाबाट १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ८ संस्थागत गरी ३६ परीक्षा केन्द्रबाट आठ हजार २४३ नियमित र दुई हजार १७३ ग्रेड वृद्धि गरी जम्मा १० हजार ४१६ जना विद्यार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईँले जानकारी दिनुभयो ।

एकाइ प्रमुख चौलागाईँका अनुसार दुई मदरसासहित १०४ सामुदायिक विद्यालय र १०२ संस्थागत गरी २०६ विद्यालयका पाँच हजार १७९ छात्रा र पाँच हजार २३७ छात्र गरी १० हजार ४१६ जना विद्यार्थीले एसइई दिने भएका हुन् । उहाँका अनुसार १० वटा सामुदायिक विद्यालयका ३१५ नियमित र ५९ ग्रेड वृद्धि गरी ३७४ जना प्राविधिकधारका विद्यार्थी पनि सहभागी हुने छन् ।

जसमध्ये सामुदायिक १०४ विद्यालयका तीन हजार ८८६ छात्रा र तीन हजार ५२७ छात्र गरी सात हजार ४१३ विद्यार्थी र संस्थागत १०२ विद्यालयका एक हजार २९३ छात्रा र एक हजार ७१० छात्र गरी तीन हजार तीन विद्यार्थी रहेका छन् ।

यसवर्ष सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा ११, कोहलपुर नगरपालिकामा १०, राप्तीसोनारी गाउँपालिकामा चार, बैजनाथमा चार, खजुरामा चार र नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा एक÷एक गरी ३६ परीक्षा केन्द्र तोकिएको एकाइ प्रमुख चौलागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्जमा सात सामुदायिक र चार संस्थागत, कोहलपुरमा छ सामुदायिक र चार संस्थागत र अन्य सबै पालिकामा सामुदायिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

बाँकेमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबाहेक पनि ४३ जना विद्यार्थीले एसइई दिन लागेका छन् । जिल्लामा रहेका दुई वटा बालसुधार गृहका ४३ जना बालबिज्याइँकर्ताले पनि यसवर्ष एसइई दिन लागेका हुन् ।

डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका ३३ जना बालबिज्याइँकर्ताले एसइई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख विमला काउचामगरले जानकारी दिनुभयो । त्यसैगरी, बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौवस्तास्थित नौवस्ता बालसुधार गृहका १० जना बालबिज्याइँकर्ताले एसईई दिन लागेको सुधार गृह कार्यालयका प्रमुख श्याम रानाले जानकारी दिनुभयो । गतवर्ष पनि जयेन्दुका ३३ जना र नौवस्ताका १२ जना बालबिज्याइँकर्ताले एसइई दिएका थिए ।

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्राविधिक सहायक मनिषा पौडेलका अनुसार कुल ३६ परीक्षा केन्द्रमध्ये राप्तीसोनारी गाउँपालिका विनौनास्थित भुवरभवानी मावि परीक्षा केन्द्रबाट सबैभन्दा धेरै ४०४ जना विद्यार्थी र नरैनापुर गाउँपालिका भोजपुरस्थित जयकिशन मावि परीक्षा केन्द्रबाट सबैभन्दा कम १८१ जना विद्यार्थीले यस वर्षको एसइई दिन लागेका छन् ।

पछिल्ला केही वर्षयता बाँकेमा हरेक वर्ष एसइई दिने विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेको तथ्याङ्क अनुसार गत वर्ष जिल्लाबाट एसइई दिने विद्यार्थीको सङ्ख्या नौ हजार २९३ रहेको थियो । यसवर्ष उक्त सङ्ख्यामा वृद्धि भई १० हजार ४१६ पुगेको छ । गत वर्षभन्दा यस वर्ष एक हजार ४१ जना बढी विद्यार्थीले परीक्षा दिने भएको हुन् । त्यसैगरी २०७९ सालमा जिल्लाबाट आठ हजार ८८६ जना विद्यार्थीले एसइई दिएका थिए ।