अविनाश चौधरी
धनगढी, फागुन २६ गते । धनगढीमा बनेको धनगढी सभागृह कार्यविधि बनेपछि मात्रै सञ्चालनमा आउने भएको छ । सभागृहको स्वामित्व पाएको धनगढी उपमहानगरपालिकाले कार्यविधि बनाएपछि मात्रै सभागृह सञ्चालनमा आउने भएको हो । एक हजार क्षमताको सो सभागृहको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
तर सभागृह सञ्चालनसम्बन्धी कार्यविधि अझै बनिसकेको छैन । यो कार्यविधि बनेपछि मात्रै सभागृह सञ्चालनमा आउने धनगढी उपमहानगरपालिकाका भौतिक पूर्वाधार विकास समितिका संयोजक सन्तोष मुडभरीले जानकारी दिनुभयो । उहाँले सभाहल सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले ठेक्कामा निजी क्षेत्रलाई पनि दिन सक्ने उल्लेख गर्नुभयो ।
एक हजार क्षमताको सभा हल सङ्घीय सरकारको साढे ३२ करोड लगानीमा बनेको हो । २०७९ असारमा नै सभागृहको निर्माण कार्य सम्पन्न भएको थियो । धनगढी उपमहानगरपालिका–८ मा सभा हल रहेको छ । यो सभाहलमा ठुलठुला गोष्ठी, सेमिनार आयोजना गर्न सकिने जनाइएको छ । धनगढी सभाहल सञ्चालनमा नआएकाले यस्ता कार्यक्रमहरु महँगो शुल्क तिरेर पार्टी प्यालेस वा ठुला होटलहरूमा आयोजना हुँदै आएका छन् ।