• २६ फागुन २०८१, सोमबार

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

blog

शैक्षिक सामग्री हस्तान्तरण गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २६ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आधा दर्जन सामुदायिक विद्यालयमा अध्ययनरत २०० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

विपन्नताका कारण पढाइबाट वञ्चित हुन नपरोस् साथै विद्यार्थीको पढाइ अभिवृद्धि गर्ने उद्देश्यले ताप्लेजुङ विकास मञ्चले शैक्षिक सामग्री वितरण गरेको हो । दौंतारी नेपालको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिनुभयो । 

सदरमुकाम फुङ्लिङमा सोमबार एक कार्यक्रम आयोजना गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, दौंतारी नेपालका अध्यक्ष सम्पन्न स्थापित लगायतले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्ने गरी शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

मञ्चका अध्यक्ष प्रसाईका अनुसार मेरिङ्देन गाउँपालिकाको सूर्यदेवी माध्यमिक विद्यालयका ४० जना विद्यार्थी र पाथीभरा याङ्वरकको सिद्धेश्वरी माध्यमिक विद्यालयका ३५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस्तै सिरिजङ्घा गाउँपालिका–१ को भगवती आधारभूत विद्यालयका २५ जना, फक्ताङ्लुङ गाउँपालिकाको तुलसी आधारभूत विद्यालयका ३० जना, सिरिजङ्घा गाउँपालिकाकै महेन्द्र आधारभूत विद्यालयका ३५ जना र भगवती आधारभूत विद्यालय आम्बेगुदिनका ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । 

शैक्षिक सामग्रीमा प्रति विद्यार्थी एकथान झोला, समान एक दर्जनका दरले कापी र पेन्सिल, कलम र मसी सेट, ज्यामिती बक्स, एक जोडी जुत्ता र ट्रेकसुट रहेको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने आर्थिक रूपले विपन्न र जेहेन्दार विद्यार्थी छनोट गरी उक्त शैक्षिक सामग्री वितरण गरिएको मञ्चले जानकारी दिएको छ । 

दौंतारीको सहयोगमा विगत छ वर्षदेखि यहाँका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको पनि मञ्चले जनाएको छ ।