• २६ फागुन २०८१, सोमबार

मुगुका किसानलाई स्याउ बगैँचा व्यवस्थापनको चटारो

blog

रितु नर्सरी फार्म ।

हरिकृष्ण ऐडी

मुगु, फागुन २६ गते । मुगुका कृषकलाई हिजोआज स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । पछिल्लो समय मुगुको आयस्रोतको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ बनेकाे छ ।

छायाँनाथ रारा नगरपालिका ५ को रितु नर्सरी फार्मका सञ्चालक मणिचन्द्र भामका अनुसार दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्नेमा स्याउ कृषक जुटेका हुन्। 

भदौ, असोजमा स्याउको दाना टिप्ने गरिन्छ। किसानहरु फूल खेल्नु र हिउँ पर्नुअघि नै बगैँचा व्यवस्थापन गर्न जुटेका छन्। हिउँ पर्ने समयमा स्याउ बगैँचाको उचित व्यवस्थापन गर्दा उत्पादन र गुणस्तर सुधार गर्न सकिन्छ । माघ र फागुनमा  कृषकले अनावश्यक हाँगा हटाउने गर्छन् । रोग किरा फैलिन नदिन सर्वो आयल र बोडो पेष्ट लगाउने काममा जिल्लाका किसानलाई हिजोआज चटारो भएको भामले बताउनुभयो ।

कृषि विकास कार्यालय मुगुको अनुसार हिमाली जिल्ला मुगुमा हिजोआज किसानले जरा वरपरको झार हटाएर खन्ने र भेडा, च्याङ्ग्रा, गाई, गोरुको मल हाल्ने काममा जुटेका छन् ।

कृषि विकास कार्यालय मुगुका अधिकृत रामनाथ अधिकारीले हिउँ परेपछि माटोले छोपेर राखिएको मल मिज्ने र जराबाट विरुवालाई पौष्टिक तत्व आपूर्ति हुने भएकोले यो समय स्याउ व्यवस्थापनमा राम्रो मानिन्छ ।

उहाँले भन्नुभयो, "स्याउको परागशेचनका लागि माइनस डिग्रीको तापक्रम आवश्यक पर्छ। अनावश्यक हाँगा नहटाउँदा उत्पादन र गुणस्तरमा असर गर्छ र दाना साना लाग्छन् । दानाको स्वाद मीठो हुँदैन। पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा हाँगा काँटछाँट गरिन्छ । स्याउको हाँगा काटेर ग्राफ्टिङ गर्ने सिजन पनि यही हो ।"

कृषि विकास कार्यालय र छायाँनाथ रारा नगरपालिकाको कृषि शाखाले कृषकलाई बगैँचा व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरेका छन् । बगैँचा व्यवस्थापनका सामग्री र बोडो पेष्ट उपलब्ध गराएको छायाँनाथ रारा नगरपालिका १४ का हंशलाल बढुवाले जानकारी दिनुभयो ।