काठमाडौं, फागुन २६ गते । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको बताउनुभएको छ ।
सोमबार ललतिपुरमा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको बताउनुभयो । उहाँले उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने भन्नेकुरा आजको बहसको विषय भएको बताउनुभयो । उहाँले पुरुषको क्षमताको प्रश्न नउठ्ने तर महिलाको सक्षमताको बारेमा हरेक क्षण प्रश्न उठ्ने गरेको भन्दै महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
न्यायाधीश मल्लले अहिले न्यायालयमा पनि महिलाको उपस्थिति बाक्लो रहेको जानकारी दिनुभयो । उहाँले कर्मचारी, सुरक्षा, वकील लगायत न्याय क्षेत्रको पत्रकारितामा पनि माहिलाहरुकै नेतृत्व रहेको देख्दा खुशी लागेको बताउनुभयो ।
‘‘युएन वुमेनले एक्सेस टु जस्टिसको अध्ययन गर्दा एक पटक सय जना महिलालाई अध्ययन गरेर हेरेको थियो । उनीहरुले ७५ प्रतिशतले हामी अदालत जाँदैनौँ भने । किनभने कानून पनि विभेदपूर्ण छ । न्यायपालिकामा जाँदा सबै पुरुष नै पुरुषका बीचमा आफ्ना कुरा भन्नै अप्ठ्यारो लाग्छ । सहज वातावरण कसरी सिर्जना गर्ने ? आजकाल त गर्व लाग्छ ।,’’ न्यायाधीश मल्लले भन्नुभयो, ‘‘किनभने महिला अधिकृतहरु बेन्चमा हुनुहुन्छ, बहस गर्ने सरकारी वकील पनि धेरै महिला हुनुहुन्छ, वैतनिक पनि महिला हुनुहुन्छ र निजी क्षेत्रबाट धेरै वकील नै हुनुहुन्छ । सुरक्षा दिन पनि महिला नै हुनुहुन्छ ।’’
न्यायाधीश मल्लले स्वच्छ र समानतामुलक न्याय आजको आवश्यकता भएको बताउनुभयो ।
‘‘पत्रकारहरुले जुन कभर गर्नुहुन्छ कानुनको त्यहाँ पनि महिलाले नै नेतृत्व गर्नुहुन्छ । त्यो भनेर हामीले पुरुष पनि हाम्रो लागि महत्त्वपूर्ण हुन्छ । महिलाको उपस्थिति केही हदसम्म देखिएको छ तर पर्याप्त छैन । निर्णायक तहमा महिलाको उपस्थिति कम छ ।,’’ उहाँले भन्नुभयो, ‘‘उपस्थितिलाई कसरी बाक्लो बनाउने, कसरी प्रभावकारी बनाउने हो । पुरुषको क्षमताको प्रश्न उठ्दैन तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ । हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।’’