• २६ फागुन २०८१, सोमबार

रेमिट्यान्सको उत्पादनशील उपयोग

blog

 डा.भागवत आचार्य

उपनिर्देशक, नेपाल राष्ट्र बैङ्क 

कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम स्वदेशमा पठाउने रकम रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ । सामान्य अर्थमा विदेशको कमाइ नै रेमिट्यान्स हो । वैदेशिक रोजगारमा गएर कमाएको रकम स्वदेशमा प्राप्त भएपछि सो रकम रेमिट्यान्स हुन आउँछ । 

अहिले धेरै नेपाली विदेशमा गएर कमाइ गरिरहेका छन् । उनीहरूले कमाएको पैसा नेपालमा पठाउँछन् । यसबाट उनीहरूको आम्दानी भएको छ र उनीहरूको जीवनस्तर उकासिएको छ । विदेशको कमाइलाई उपभोगमा, शिक्षामा, स्वास्थ्यमा तथा आयआर्जन हुने विभिन्न व्यवसायमा उनीहरूले लगानी गरेका छन् । यसबाट परिवार सचेत, शिक्षित भएका छन् तथा थप आयआर्जनका माध्यम विस्तार हुँदै गएको छ । यसबाट राज्यको आम्दानी पनि बढ्दै गएको छ । देशमा पर्याप्त उत्पादन नहुँदा विदेशबाट आयात गर्नु परिरहेको अवस्थामा आयातबापतको भुक्तानी गर्नुपर्ने विदेशी मुद्रा रेमिट्यान्सबाट प्राप्त भइरहेको छ । यसैले नेपाली अर्थतन्त्रलाई भरथेग गर्ने महत्वपूर्ण अंश रेमिट्यान्सबाट प्राप्त भएको छ । 

नेपालमा प्राप्त हुने विप्रेषण कुल गार्हस्थ उत्पादनको २३ प्रतिशत रहेको छ । केही समयअघिको एक अध्ययन अनुसार नेपालमा करिब ५६ प्रतिशत जनताको घरमा विप्रेषण प्राप्त हुन्छ । कुल वैदेशिक रोजगारीमा जाने नेपालीमध्ये ११ प्रतिशत अंश महिलाको रहेको छ । 

रेमिट्यान्स अहिले घरायसी खर्चका लागि चाहिने आम्दानीको स्रोत बन्न पुगेको छ । विदेश पठाउने वैदेशिक रोजगार व्यवसाय सञ्चालन भएका छन् । बैङ्क तथा रेमिट्यान्स कम्पनीबाट प्राप्त यस्तो आम्दानीले व्यवसाय विस्तारमा लगानीको स्रोत जुटेको छ । पुँजी निर्माण नभई कुनै पनि देशको विकास हुन सक्तैन । पुँजी लगानी गरेर नै उद्यम व्यवसाय सञ्चालन हुन्छन् । यसबाट सर्वसाधारणले रोजगारी पाउँछन्, आम्दानी बढ्छ, उत्पादन बढ्छ र मुलुक समृद्धिको दिशामा अघि बढ्छ । विदेशको कमाइ छोटो समयको कमाइ हो । 

वैदेशिक रोजगारमा जाने अधिकांश कामदार ग्रामीण, अर्धशिक्षित वा अशिक्षित, सीप र दक्षताका हिसाबले कम सीपयुक्त रहेका छन् । यसैले आफ्नो कमाइलाई दिगो आय हुने उद्यममा नलगाउँदा उपभोग गरेरै सिध्याउने प्रवृत्ति देखिएको छ । यसैले रेमिट्यान्सलाई नगरी नहुने उपभोग मात्र गरेर बाँकी कमाइलाई उद्यम व्यवसायमा लगाउनु उत्तम हुन्छ । यदि उद्यममा लगाउन अनुकूल नभएमा बैङ्क तथा वित्तीय संस्थामा खाता खोलेर राखेमा सो पैसा अन्य उद्यमीले प्रयोग गर्छन् र देशमा उत्पादन, आय रोजगार बढ्छ । यसैले विदेशको कमाइलाई आफ्नो दिगो आय विस्तारका साथै राष्ट्रिय विकासमा यसरी लगाउन सकिन्छ भन्ने कुराको चेतना कामदारलाई प्रदान गर्न सकिएमा यसको उचित उपयोगको सम्भावना बढ्छ । 

अर्को एक अध्ययन अनुसार नेपालमा आएको विप्रेषणको ७८.९ प्रतिशत उपभोगमा, ७.१ प्रतिशत साहुको ऋण तिर्न, ४.५ प्रतिशत बालबच्चाको शिक्षामा, ४.५ प्रतिशत घरजग्गालगायत सम्पत्ति खरिदमा, २.४ प्रतिशत पुँजी निर्माणमा, २.६ प्रतिशत स्वास्थ्यलगायतका क्षेत्रमा खर्च हुने गरेको देखिएको  छ । यस्तो अवस्थामा विप्रेषण केवल नेपालीको दैनिक गुजारा चलाउने माध्यम मात्र बनेको देखिन्छ ।

यसैले वैदेशिक रोजगारमा गएका र सो घरपरिवारका सदस्यले कम्तीमा ज्ञान राख्नु पर्दछ विदेशको कमाइलाई कृषि, पशुपालन (बाख्रापालन, कुखुरापालन, गाई, माछा, कुखुरा वा अन्य) वा बन्दव्यापारमा लगाएमा यसले दिगो आय सिर्जना हुन्छ, परिवारका सदस्यले समेत काम पाउँछन् । यसबाट सो घरपरिवारको जीवनस्तर अभिवृद्धि हुन्छ । 

रेमिट्यान्स व्यवस्थापनको अर्को पक्ष भनेको वैदेशिक रोजगारीमा जानेले आफ्नो कमाइलाई औपचारिक वा कानुनी माध्यमबाट स्वदेश पठाउनु पर्दछ । नेपालीको कमाइ नेपालमा भित्रिएमा नै पुँजी निर्माण भई उद्यम व्यवसायमा लगानीको स्रोत जुट्छ । यदि विदेशको कमाइ नेपाल नआएमा होनहार नेपाली युवाको श्रम खेर जान्छ र हामी गरिबको गरिब नै रहन्छौँ । यसैले नेपालमै उद्यम व्यवसाय सञ्चालन गरी यहीँ रोजगारी सिर्जना गर्नु र उत्पादन बढाउनु सबैभन्दा उत्तम हुन्छ । 

विदेशको कमाइलाई बैङ्क, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीमार्फत स्वदेश पठाएमा यसको पूर्ण उपयोग सम्भव हुन्छ । यसैले रेमिट्यान्स पठाउँदा केही सेवा शुल्क तिर्नुपर्ने भए पनि बैङ्क, वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरू (रेमिट्यान्स कम्पनी) बाट पठाउनु नै सबैभन्दा सुरक्षित, भरपर्दो र औपचारिक तरिका हो । 

रेमिट्यान्स व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत पठाउने (हुन्डी) गरेमा यसबाट मुलुकलाई ठूलो घाटा लाग्दछ । नेपालमा हुन्डीमार्फत रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । हुन्डीका माध्यमबाट पैसा पठाउँदा पठाएको पैसा डुब्न सक्ने, सम्पत्तिको स्रोत नखुल्ने, दाबी गर्नका लागि कुनै लिखित प्रमाण नरहने र गैरकानुनी कारोबार भएकाले हुन्डीको कारोबारमा संलग्न दुवै पक्ष सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीको भागिदार हुन सक्छन् ।

औपचारिक माध्यममार्फत प्राप्त हुने रेमिट्यान्सले मुलुकको अर्थतन्त्रलाई टेवा दिई देश विकासमा मद्दत पुग्न जान्छ । हुन्डीले भने देशलाई घाटा हुन्छ । यसले नेपाल भित्रिनुपर्ने कमाइ विदेशतिर पलायन हुन सक्छ । गैरकानुनी क्रियाकलापले प्रोत्साहन पाउन सक्छ । तसर्थ हुन्डीबाट पैसा पठाउने कार्यलाई दुरुत्साहित गर्नु हरेक नागरिकको कर्तव्य हुन आउँछ । 

तसर्थ रेमिट्यान्स औपचारिक बैङ्क तथा रेमिट्यान्स कम्पनीबाट मात्र पठाउने, पैसा पठाउँदा लाग्ने शुल्कबारे सोधपुछ गर्ने, रेमिट्यान्स पठाउँदा कम्पनीबाट दिइने रसिद रकम प्राप्त नहुन्जेल सुरक्षित राख्ने, विप्रेषण पठाएपछि सोको उपयोग कृषि, पशुपालन वा व्यापार आदि उत्पादनशील क्षेत्रमा लगानी गरेमा रेमिट्यान्स पूर्ण सदुपयोग हुन गई मुलुक समृद्धिको मार्गमा अघि बढ्न मद्दत पुग्छ ।   

–युवामञ्च