• २६ फागुन २०८१, सोमबार

कृषिको आधुनिकीकरणमा जोड दिएका छौँ

blog

सुनसरीको सदरमुकामसँगै जोडिएको छ, हरिनगर गाउँपालिका । यो गाउँपालिकाले विकासका पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनसँगै कृषिमा यान्त्रिकीकरण र व्यावसायिकीकरणमा उल्लेख्य प्रगति हासिल गर्दै छ । कृषि उत्पादनमा जिल्लाकै अग्रणी मानिएको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँसँग गोरखापत्र दैनिकका लागि इनरुवा समाचारदाता जयकृष्ण यादवले गर्नुभएको कुराकानी :

यहाँ यो गाउँपालिकाको अध्यक्ष पदमा दोस्रो कार्यकालमा हुनुहुन्छ । यहाँले नेतृत्व समाल्नुभएको करिब आठ वर्षको अवधिलाई कसरी मूल्याङ्कन गर्दै हुनुहुन्छ ?

संयोग र जनताको विश्वासका कारण मैले २०७४ र २०७९ सालमा भएका स्थानीय तहको निर्वाचनबाट यस गाउँपालिकाको सेवा गर्ने अवसर पाएको छु ।  पहिलो कार्यकालमा मैले गरेका राम्रा काम र विकासकै कारण दोस्रो कार्यकालमा पनि मलाई यहाँका जनताले विश्वास गर्नुभयो । मैले जनताको सोही विश्वासका आधारमा आफूले सक्ने जति काम गर्दै आएको छु । 

यो अवधिमा हामीले गाउँपालिकाको ५२ किलोमिटर सडक कालोपत्रे गरेका छौँ । विभिन्न स्थानमा नौ वटा पुल र पाँच किलोमिटर दुवैतर्फ नालासहितको सडक निर्माण गरेका छौँ । विगतमा घण्टौँ यात्रा गरेर मात्रै बजारसम्म पुग्न सक्ने अवस्था थियो ।  अहिले भने मिनेटमै पुग्न सक्ने गरी सानाठुला गाडी गुड्न सक्ने कालोपत्रे सडक निर्माण गरेका छौँ । बाँकी रहेका विभिन्न सडकमा स्तरीय ग्राभेल भएको छ । ससाना कलभर्ट निर्माण गरेका छौँ । विद्यालय भवन निर्माणसँगै शौचालय, मठमन्दिर, मस्जिद, मदरसाका समेत भवन निर्माण भएका छन् । चिकित्सकसहितको अस्पताल, प्रसूति सेवा र २४ घण्टे इमर्जेन्सी सेवा, सबै वडामा स्वास्थ्य चौकी, निःशुल्क औषधिको व्यवस्था तथा शिक्षातर्फ आधारभूत तह र माध्यमिक तहका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन तथा भवनसहित जनशक्ति व्यवस्थापनको काम भएको छ । सुनसरीका अन्य स्थानीय तहको तुलनामा हामी राम्रो काम गरेको दाबी गर्न सक्छौँ । 

यो गाउँपालिकामा ९० प्रतिशत बासिन्दाको मुख्य व्यवसाय  कृषि  र पशुपालन नै हो । यहाँका किसानका लागि के कस्ता योजना बनाइरहनुभएको छ ? 

हामीले कृषिलाई यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्नु पर्छ भन्ने उद्देश्यका साथ काम गरेका छौँ । त्यसका लागि कृषि उपकरण खरिद गर्न किसानलाई अनुदान दिएका छौँ । गाउँपालिकामा हार्भेस्टिङ सेन्टर स्थापना गरी त्यसमा भएको उपकरण ट्याक्टर, हार्भेस्टर सुलभ रूपमा उपलब्ध गराउने गरेका छौँ । मल तथा बिउबिजनमा ५० प्रतिशतदेखि ७५ प्रतिशतसम्म अनुदान दिने, व्यावसायिक कृषि प्रवर्धन गर्ने, किसानलाई विषादी छर्ने मेसिन, खनजोतका लागि हाते ट्याक्टरदेखि ठुलो ट्याक्टर र धान, गहुँ र मकै काट्न हार्भेस्टर मेसिनको व्यवस्था गरेका छौँ ।

यस गाउँपालिकामा समृद्धिका मुख्य आधार के केलाई बनाउँदै हुनुहुन्छ ?

हरिनगर गाउँपालिकालाई कृषि र पशुपालनबाट समृद्ध बनाउन सकिन्छ भन्ने विश्वासका साथ हामीले उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमा जोड दिँदै आएका हौँ । कृषि शाखामार्फत सहकारी संस्था र कृषक समूहसँग मिलेर धान, मकै, गहुँ र विशेष गरी तरकारी उत्पादन वृद्धि गर्ने कार्यव्रmममा जोड दिएका छौँ । अहिले यहाँँका किसान खाद्यान्न र तरकारी बालीमा आकर्षित भएका छन् । पशुपालन गर्ने किसानका घर घरमा विभिन्न रोगविरुद्धको खोप तथा परीक्षण अभियान सञ्चालन गरी सेवा दिएका छौँ । 

यस गाउँपालिकाको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो छ ? अनि यसलाई बढाउन के कस्ता प्रयास भएका छन् ? 

हाम्रोमा आन्तरिक आम्दानी भनेको दैनिक रूपमा वडाबाट प्रवाह भएको सेवाबापत शुल्क र घरजग्गा कर, एकीकृत सम्पत्ति कर, व्यापार व्यवसाय कर एवं नवीकरण शुल्क, घरबहाल कर, हाटबजार कर र विभिन्न प्रकारका दस्तुरबाट हुने रकम नै हो । हामीले आन्तरिक आम्दानी बढाउन आफ्नै सुपर मार्केट तथा सटर निर्माण पनि थालेका छौँ । यसले वार्षिक १० देखि १५ लाख रुपियाँ आम्दानी उठ्न सक्ने अवस्था बन्ने छ ।

शिक्षाको विकासका लागि के के काम गर्दै हुनुहुन्छ ?

शिक्षातर्फको कुरा गर्दा अहिलेसम्म यहाँ उच्चशिक्षा पढाइ हुने क्याम्पससमेत छैन । दक्षिणवर्ती क्षेत्रमा पहिलो पटक आफ्नै पहलमा हरिनगर बहुमुखी क्याम्पस स्थापना गरेका छौँ । विद्यालयहरूको स्तरोन्नति गरेका छौँ । यो वर्ष मात्रै पाँच वटा विद्यालयमा शैक्षिक तथा भौतिक पूर्वाधार सुधारका काम भएको छ । केही विद्यालयमा भौतिक संरचना निर्माण गरिएको छ । 

यस वर्ष मात्रै हामीले हरिनगर माविमा दुईकोठे भवन निर्माण ग¥यौँ । श्री जनता माध्यमिक विद्यालय गौतमपुर र बालकृष्ण माविमा पनि भवन निर्माण गरिएको छ । त्यसै गरी आधारभूत विद्यालयमा समेत काम भएको छ । हामीले शिक्षा क्षेत्रमा काम गर्दा स्थानीयले निकै लाभ लिएका छन् । त्यसै गरी वसन्तपुरमा विद्यालय भवन निर्माण भएको छ । 

हामी निर्वाचित भएर आउँदा यहाँको  शिक्षाको अवस्था निकै नाजुक थियो तर यो आठबर्से कार्यकालमा निकै काम भएको छ । 

शैक्षिक सुशासन कायम भएको छ । शिक्षकमा नियमितता बढेको छ । सामुदायिक विद्यालयमा पनि राम्रो पढाइ भएको सन्देश प्रवाह गर्न सफल भएका छौँ । हरिनगर माविलाई नमुना विद्यालयका रूपमा विकास गरेका छौँ । दुई वटा विद्यालयमा प्राविधिक धारको पढाइ भइरहेको छ भने शिक्षामा क्रमिक सुधार भएको छ । 

गाउँपालिकामा स्वास्थ्यतर्फ के के गर्नुभएको छ ?

हाम्रोमा साबिकका गाविसहरूमा रहेका स्वास्थ्य चौकी पाँच वटा रहेकामा थप दुई वटा पनि व्यवस्था गरेका छौँ । प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शøयाको अपस्ताल बनाएर चिकित्सकसहितको सेवा र अस्पातलमा तीन डाक्टर, नियमित प्रसूति सेवा र २४ घण्टे इमर्जेन्सी सेवा, ल्याब सेवा र एम्बुलेन्ससमेतको सेवा सञ्चालन गरेका छौँ । हाम्रा सबै वडामा स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा निःशुल्क औषधीको व्यवस्था गरिएको छ । 

तपाईंले गरेको कामबाट चाहिँ स्थानीयवासी सन्तुष्ट भए पनि केही सार्वजनिक सम्पत्तिको संरक्षणमा चुनौती देखिन्छ । यसलाई कसरी लिनुभएको छ ?

हाम्रोमा विडम्बना के छ भने अहिलेसम्म गरेको काम हेर्दा अरूको तुलनामा निकै राम्रो भएको छ तर भएका कामको लाभ लिन अझै सकिरहेको छैन कि भन्ने भान रहेको छ । गुणस्तरीयताको संरक्षण र भएको निर्माणलाई स्थानीयले सही रूपमा सदुपयोग नगर्दा हामी आफैँ पनि आश्चर्यचकित बनेका छौँ । सडक संरक्षण र सुरक्षाको जिम्मा स्थानीय पालिकाको मात्र नभई सबै नागरिकको पनि हो । सँगै राजनीतिक दल र वडाका जनप्रतिनिधिको पनि रहेको छ । हाम्रोमा त्यति राम्रो सडक बनाइए पनि संरक्षणमा स्थानीयले ध्यान नदिँदा उल्टै अतिक्रमण बढेको छ । यस्तोमा सबैले सहयोग गर्नुपर्नेमा सडकमा फोहोर गर्ने, गोबर, गुइँठा राख्ने, गाईबस्तु बाँध्ने गरेको देखेका छौँ । 

तपाईंको स्थानीय तहमा विभिन्न धार्मिक सम्प्रदाय र जातिको बसोबास छ । उनीहरूको माग र मुद्दा सम्बोधन गर्न के कस्ता काम गर्नुभएको छ ?

तपाईंले भने जस्तै हाम्रो स्थानीय तहमा हिन्दु र मुस्लिमको बाहुल्य छ । धार्मिक हिसाबले भने मधेसी समुदायको ९९ प्रतिशत बसोबास छ । बसोबासको अवस्था हेर्दा ५१ हजार जनसङ्ख्या रहेकामा २० भन्दा बढी जातिको बसोबास छ । धार्मिक स्थल, मठमन्दिर, थान निर्माणमा सहयोग गरेका छौँ । मुस्लिम समुदायका लागि पनि पालिकाले सहयोग गरेको छ । हरिनगर–१, भुटाहामा रहेको दुर्गा मन्दिर निर्माणका लागि स्थानीय पालिकाले ८५ लाख रुपियाँ सहयोग गरेको छ । त्यसै गरी वासुकीनाथ मन्दिरमा पनि सहयोग गरिएको छ । विभिन्न धार्मिक स्थलको संरक्षण र मर्मतसम्भार गरेका छौँ । 

त्यसै गरी इस्लाम समुदायको मदरसा निर्माणसँगै मर्मतसम्भार पनि गरेका छौँ । यहाँका दुवै समुदायबिच सामाजिक सद्भाव, जातीय सद्भाव, धार्मिक सद्भाव, एकता, भाइचारा र बन्धुत्वका लागि बेलाबखतमा सबै समुदायबिच कार्यक्रम गर्ने र शुभकामना आदानप्रदानको कार्यव्रmम गर्दै आएका छौँ । धार्मिक तीर्थस्थल जानेलाई जस्तो इस्लाम समुदायको मक्का मदिना जानेलाई सहयोग गर्ने, शुभकामना दिने गरेका छौँ । हिन्दु धर्मावलम्बी स्थानीयलाई विभिन्न धार्मिक तीर्थस्थल जाँदा बाटो खर्चसमेत दिएका छौँ ।