• २५ फागुन २०८१, आइतबार

काजीको कलम

भारी बिसाउन नचाहने भरिया

blog

न्युरोडको व्यस्त सडकमा सवारीसाधनको नियमित बाक्लो जाम, सडकपेटी तथा गल्लीमा पैदलयात्रीको ठेलमठेलबीच भारी बोकेर हिँडिरहेका भरिया पनि देखिन्छन् । हाटहुट गर्दै, सिट्टी बजाउँदै गरेका उनीहरूको पसिनाका थोपा थोपामा श्रमको मोल छ र त्यसैले जीवनका फूल फुलेका छन् । फुर्सदमा उनीहरू  नाम्लो बोकेर चोकतिर गफिएको देख्न सकिन्छ ।

न्युरोड क्षेत्रमा ज्यानले थेग्न नसक्ने खालका बडेमानको भारी बोक्ने भरियालाई देख्दा अनौठो लाग्न सक्छ । गल्ली चोकबाट भारी बोकेर फुत्त फुत्त निस्कने यहाँका भरियाको कथा र व्यथा चाखलाग्दो छ । 

कोही भारी बोकेर सडकमा हिँडिरहेका भेटिन्छन् भने कोही इन्द्रचोक, असन, वटु,, प्युखा, विशालबजार र महाबौद्धलगायतका स्थानमा गफिँदै भेटिन्छन् । २५ वर्षदेखि न्युरोड क्षेत्रलाई जिउने आधार बनाउँदै आएका धादिङको गल्छीका ७५ वर्षीय ज्ञानबहादुर भण्डारीलाई उमेर ढल्क्यो बुढो भएँ भन्ने रत्ति पिर छैन ।  

इन्द्रचोकअगाडि सडक छेउमै नाम्लो भुइँमा राखेर बसेका भण्डारी नियमित काम नपाएकोमा खिन्न देखिए । यस क्षेत्रको सबैभन्दा पाको उमेरका भरिया भण्डारीले गुनासो गरे, “बिहान एक/दुई भारी बोकियो । खाना खाएर आउँदा त काम नै छैन । घाम ताप्यो बस्यो ।’’

श्रीमती गुमाएपछि पेट पाल्न, छोराछोरी हुर्काउनका लागि काठमाडौँ पसेका भण्डारी आफूले जानेको सीप भनेको नै गाउँघरमा कोदाली चलाउने र शहरमा भारी बोक्नेबाहेक केही छैन भन्छन् । छोराछोरीले अब भारी बोक्नु पर्दैन बा भन्छन् तर उनको मनले मान्दैन । अन्य मानिस भारी बिसाउन पाए हुन्थ्यो भन्छन्, उनको इच्छा भने भारी बोक्ने काम नियमित पाए हुन्थ्यो भन्ने छ । त्यस्तै वटुचोकमा भेटिएका सिन्धुपाल्चोक मेलम्चीका १७ वर्षीय फुर्वा तामाङको कथा व्यथा पनि आफ्नै किसिमको छ । भर्खरै गाउँबाट काठमाडौँ पसेका फुर्वालाई धेरै व्यापारीले चिन्दैनन् र नयाँ भएकाले सोचे जस्तो काम पनि पाउँदैनन् ।  

उनी अन्य सहकर्मी दाइ र साथीहरूसँग भारी बोक्न कुद्छन् । भारी बोकेबापत प्रतिपोका दुई सयदेखि पाँच सय रुपियाँसम्म लिन्छन् । अहिले ‘अफ सिजन’ भएर होला सोचे जस्तो काम उनीहरूले पाइरहेका छैनन् । भरिया फुर्वालाई पनि नियमित रूपमा भारी बोक्न नपाएकोमा पिर छ । प्रायः मानिसले थाप्लोको भारी बिसाउन चाहन्छन् । पेट पाल्नका लागि होस् या मनग्गे आम्दानी गर्न भारी बोक्नु कठिन नै काम हो तर फुर्वा र भण्डारीलगायत न्युरोड क्षेत्रका भरिया सकभर थाप्लोको भारी बिसाउनु नपरोस् भन्छन् । पापी पेटका लागि १७ वर्षको उमेरमा ७० देखि १०० किलो भारी बोक्नु नियमित भएको भनाइ छ फुर्वाको । “वैदेशिक रोजगारभन्दा भरिया जिन्दगी आनन्दमय छ । जहाँ गए पनि दुःख नगरी हुँदैन । पेट पाल्नका लागि न्युरोड नै आफ्नो लागि स्वर्ग हो,” उनको बुझाइ छ । ढुवानीका सवारीसाधन छिर्न नसक्ने असन, न्युरोड, वटु, महाबौद्ध र प्युखालगायत गल्लीमा भरिया ढुवानीको विश्वासिलो माध्यम बन्ने गरेका छन् । भुइँतलाबाट माथिल्लो तलासम्म सामान पुर्‍याउन पनि भरिया नै लगाउनुपर्ने अवस्था रहेको व्यापारी बताउँछन् । 

यहाँका थोक विक्रेतासँग भरिया नियमित सम्पर्कमा हुन्छन् । नभए विभिन्न चोकमा जम्मा भएर बसेका भरियालाई बोलाएर काम लगाउने गरेको भनाइ छ नेपाल व्यापार सङ्घका वैकुण्ठ दाहालको । काठमाडौँको ‘कोर’ व्यापारिक क्षेत्र भरियाका लागि आम्दानीको महत्वपूर्ण आधार बनेको छ । भारी बोकेर घर घडेरी जोड्नेहरू पनि छन् यहाँ । रामेछाप दोरम्बाका एक ५० वर्षीय भरियाले भारी बोकेर काँडाघारीमा घर बनाएको सुनाए । “हाम्रो नाम त किन लेख्नु पर्‍यो । दुइ दाजुभाइ मिलेर एकतले घर बनाएका छौँ,” उनी भन्छन् ।  

विगत २० वर्षदेखि भारी बोक्ने काम गर्दै आएकाले राम्रै आम्दानी गरेको देखिन्छ । कतिपय भरिया भारी बोक्दाबोक्दै व्यापारी भइसकेका छन् भने कोही सडकमै छन् । रञ्जना टे«ड सेन्टरअगाडि भेटिएका दोलखा शैलुङ्गेश्वरका छविलाल सुवेदी भन्छन्, “पैसा चिन्नेले राम्रो व्यवस्था गरे । नचिन्नेले जाँड रक्सीमा उडाए ।” काठमाडौँ उपत्यकाका छिमेकी जिल्ला धादिङ, काभ्रे, नुवाकोट र सिन्धुपाल्चोकका अतिरिक्त दोलखा, रामेछाप र मकवानपुरबाट आएकाको आआफ्नो जक्सन (स्थान) रहेको छ । वीर अस्पतालदेखि इन्द्रचोक, विशालबजारदेखि महाबौद्धसम्मको क्षेत्रमा जिल्लागत रूपमा भरिया समूहमा बाँडिएर बसेका छन् । 

यसरी समूहमा बाँडिएर बस्दा काम नपाउने अवस्था पनि आउँदैन भने सामान हरायो वा चोरी भएमा भरियाको पहिचान गर्न सजिलो हुने भनाइ व्यापारीको छ । बजारको भित्री मुख्य क्षेत्रका भरियाले दैनिक पाँच हजारसम्म कमाए पनि नयाँ तथा बाहिरी क्षेत्रमा बस्नेलाई पनि करिब हजार रुपियाँ कमाउन गाह्रो नभएको भरिया स्विकार्छन् । न्युरोड क्षेत्रका भरियाको दुःखपीडा जे जति भए पनि घरकोठाबाट बजार आउँदा जाँदा र भारी बोक्दा लगाउने लुगा फरक हुन्छ । कोही त मोटरसाइकल चढेर आउँछन्, दिनभर भारी बोक्छन्, साँझ घर फर्किन्छन् । कसैको बास नै पाटीपौवामा हुन्छ । 

–देवबहादुर कुँवर   

–युवामञ्च