सन् १९५० मा फ्रान्सको ग्रेनोबलमा जन्मिएका माइकल लोटिटो कुनै वैज्ञानिक खोज वा आविष्कारले होइन बरु जुनसुकै वस्तु खान सक्ने आफ्नो क्षमताले सुपरिचित भए । उनले एक पटक त सानो आकारको विमान नै खाएका थिए । यस्तो दुर्लभ क्षमताका कारण उनले उपनाम पाए, मसियर मान्सट्यु । जसको अर्थ हुन्छ ‘सबै कुरा खाने महासय’ । उनको यस्तो दुर्लभ क्षमतालाई चिकित्सा विज्ञानले पिका भन्छ ।
बाल्यकालमै लोटिटोले आफूलाई अरूभन्दा फरक मानिसकेका थिए । लोटिटो नौ वर्षको हुँदा उनका साथीहरू पेस्ट्री र अन्य फ्रान्सेली खाना जस्तै क्रोसन्ट्स र बागेट्स खान रुचाउँथे तर उनीमा चाहिँ धातु र सिसा जस्ता वस्तु खाने रुचि विकसित भयो । सुरुमा यस्ता वस्तु खाने बानी देखेर लोटिटोका आमाबाबु चिन्तित भए र चिकित्सक तीनछक्क परे तर समय बित्दै जाँदा लोटिटोले असामान्य वस्तु खाने आफ्नो भोकलाई व्यवस्थित गर्न तथा आफ्नो लाभका लागि तिनको उपयोगिता बुझे ।
चिकित्सा विज्ञानले लोटिटोमा विकसित भएको विशिष्ट क्षमतालाई पिका भन्दछ । यो एक मनोवैज्ञानिक विकार हो । यस्तो विकार उत्पन्न हुँदा मानिसमा त्यस्ता वस्तु खाने भोक जाग्छ जसलाई सामान्यतया खाना मानिँदैन र ती वस्तु पोषणका दृष्टिबाट समेत महत्वपूर्ण हुँदैनन् ।
यस्तो मनोवैज्ञानिक अवस्थाले माटो, हिलो आदि खाने भोक जगाउँछ । लोटिटोको मामिलामा त अझ खतरनाक वस्तुहरू जस्तै धातु र सिसा नै खाने भोक लाग्ने भयो । पिका रोग लाग्ने कारण अनेक हुन सक्छन् । प्रायः शरीरमा खनिज तत्वको कमी, रासायनिक असन्तुलन वा अटिज्म र स्किजोफ्रेनिया जस्ता मानसिक समस्या यसमा जिम्मेवार पाइएको छ । खासगरी केही मात्रामा मानसिक समस्या, शारीरिक विकासमा गडबडी भएका वा कुपोषित मानिसमा पिका देखिएको छ । जसले मानिसको शरीरमा भोग लाग्ने प्रक्रिया नै हेरफेर गरिदिन्छ ।
लोटिटोको मामिला त अरूभन्दा नितान्त भिन्न थियो । उनले खतरनाक गैरखाद्यवस्तु खान रुचाउथे । तिनमा कुनै पनि स्तरको पोषण लाभ उपलब्ध हुँदैनथ्यो । चिकित्सकको अनुमानमा लोटिटोमा स्नायुतन्त्र वा मनोवैज्ञानिक गडबडीका कारणले पिका विकसित भएको हुन सक्छ ।
लोटिटोको शरीरमा यस्तो विशिष्ट पाचन क्षमता विकसित भएको थियो जसबाट उनी आन्तरिक चोटबिना असाधारण गैरखाद्यवस्तु पनि सजिलै पचाउन सक्थे । चिकित्सा परीक्षणबाट थाहा भयो उनको आन्द्राको भित्री तह असामान्य रूपमा बाक्लो भएकाले तिखा र विषालु वस्तुबाट बचाउन त्यसले सुरक्षाकवचका रूपमा काम गर्दथ्यो । आमाशयमा पाइने अम्लसमेत उनको निकै नै कडा भएकाले धातु वा त्यस्ता घातक वस्तुसमेत त्यहाँ विघटित हुन पुग्थे । ठूलो हुँदै जाँदा लोटिटोले आफ्नो असाधारण क्षमताको लाभ लिन थाले । आफ्नो क्षमता सार्वजनिक रूपमा प्रदर्शन गरेर उनले पैसा कमाउन सुरु गरे । लोटिटोले प्रदर्शन गर्दा मानिसकै अगाडि साइकल, टेलिभिजन, फर्निचर आदि मिठो पकवानसरह खाइदिन्थे ।
सन् १९७७ मार्च १७ देखि अप्रिल २ का बीच १५ दिनमा एउटा सिङ्गै साइकल खाएर लोटिटोले कीर्तिमान बनाए । उनको यो कीर्तिमान सन् १९७९ मा दर्ता गरियो । त्यसपछि उनले अर्को वर्ष १२ दिनमा साइकलका ६.८ किलो पाटपुर्जा सिनित्तै पारे । लोटिटोले पानी र खनिज तेल पिउँदै पाटपुर्जा खाने गर्थे । यति विध्न वस्तु खाँदा पनि लोटिटो खासै बिरामी हुँदैनथे, पाचनको समस्या आएन । त्यस अवधिमा लोटिटोले दाह्री काट्ने सय ब्लेड, दुई प्लेट तथा एउटा गिलास पनि चपाएर निलेका थिए ।
आफ्नो जीवनमा लोटिटोले रबरका टायरदेखि किनमेल गर्दा प्रयोग गरिने गाडा, टेलिभिजन सबै खाए । उनले नियमित रूपमा नटबोल्ट, ब्लेड आदि खाने गर्थे । विशेष गरी उनलाई ट्युबलाइट खान औधी मन पथ्र्यो । स्याउ खाए जसरी उनी ट्युबलाइट खान्थे । असाधारण वस्तु खाने क्षमता मात्र लोटिटोमा थिएन उनले दाँतले सिक्का बटारिदिन्थे ।
यस्ता अनौठा खुबीले लोटिटोको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता गरियो । एक अनुमान के छ भने लोटिटोले आफ्नो जीवनमा १८ थान साइकल, सुपरमार्केटका १५ थान ट्रली, नौ थान फानस, दुई थान खाट, एक जोडी स्की, एउटा कम्प्युटर तथा एउटा कफिन गरी करिब नौ टन धातु र अन्य वस्तु खाएका थिए ।
सम्भवतः लोटिटोको सबैभन्दा स्मरणीय खाना सेसना १५० विमान हो । सन् १९७८ देखि १९८० का बीचमा उनले सानो विमानलाई टुक्रा टुक्रा पारेर खाएका थिए । विमान नै खाएपछि विश्वमा लोटिटोको प्रसिद्धि चुलियो । उनलाई आधुनिक जमानाको असाधारण मानिसका रूपमा संसारले चिन्दछ ।
–युवामञ्च