• २५ फागुन २०८१, आइतबार

अन्तर्राष्ट्रिय महिला दिवस : न्याय र समानताको प्ररेणादायी दिन

blog

काठमाडौँ, फागुन २४ गते । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले अन्तर्राष्ट्रिय महिला दिवसलाई समानता, न्याय र महिला सशक्तीकरणको अवस्था निर्माण गर्ने प्रेरणादायी दिनको रूपमा मनाउनुपर्ने बताउनुभएको छ । 

एकसय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले सबै क्षेत्र, वर्ग, जाति, समुदाय, भाषाका महिला अधिकार तथा लैङ्गिक समानताका लागि ऐक्यबद्ध हुनुपर्ने धारणा राख्नुभयो । 

अध्यक्ष पराजुलीले भन्नुभयो, “महिलाले आफ्नो अधिकारका लागि समान ज्याला, सामाजिक सुरक्षा, समानताका लागि उठाइएको आन्दोलनको सुनुवाइ गरेर आजभन्दा एकसय १५ वर्षभन्दा अगाडि अमेरिकाको सिकागो सहरबाट त्यहाँ मजदुर महिलाले उठाएको आवाजको सम्बोधन गरेर महिला अधिकारको आरम्भ भएको थियो ।सोही दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा श्रमिक महिलाका नेतृ क्लारा जेटकिनको नेतृत्वमा यो आन्दोलन अगाडि बढेको हुनाले आज यो दिवस मनाइरहेका छौं ।”

उहाँले हिजोका दिनमाभन्दा धेरै उपलब्धि हासिल भए पनि लक्ष्यमा पुग्न बाँकी रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “महिला अधिकारका सवालमा हामीले धेरै अधिकार प्राप्त गरेका छौं । त्यसलाई व्यवहारिक रूपमा कार्यन्वयन गर्ने क्रममा बाधा, व्यवधान छन् । त्यसलाई छिमलेर जानका लागि हामी सबै प्रतिबद्ध, कटिबद्ध, ऐक्यबद्ध भएर लाग्नुपर्छ । यसो भयो भने उपलब्धि हात पार्न सक्छौं ।”

यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा पहिलेभन्दा आउको परिवर्तनको के उपलब्धि भइरहेको छ भनेर अवलोकन गर्नुपर्ने बताउनुभयो । घरेलु हिंसा, लैङ्गिक हिंसा, छाउपडी प्रथा, बाल विवाह अझै पनि पूर्णरूपले नियन्त्रण हुन नसकेको उहाँको भनाइ छ । 

उहाँले महिला एवम् मानवमाथि हुने हिंसा न्युनीकरणका लागि स्थानीय तहबाट सक्रियताका साथ सचेतना अभिवृद्धि गराउनुपर्ने बताउनुभयो । अध्यक्ष मगरले भन्नुभयो, “अहिले पनि ती हानिकारक अभ्यासहरू सम्पुर्णरूपमा हटिसकेका छैनन् । यसका लागि सचेतनाको कार्य चलाउनुपर्छ । बढी सक्रिय भएर पहलकदमी चाल्नुपर्छ । यो बढी स्थानीय सरकारबाट नियन्त्रण गर्न सजिलो हुन्छ ।” उहाँले महिला हिंसा न्युनीकरणका लागि सबै पक्षबाट सहकार्य हुनुपर्ने भनाइ राख्नुभयो ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष विष्णुमाया ओझाले अहिलेसम्मको उपलब्धि समीक्षा गर्ने र आगामी रणनीति निर्माण गर्ने महत्त्वपूर्ण दिनको रूपमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुपर्ने बताउनुभयो । अध्यक्ष ओझाले भन्नुभयो, “हामीले अहिलेसम्म के उपलब्धि हासिल गर्‍याैँ भनेर समिक्षा गर्ने र अब अगाडि बढ्न नयाँ आयाम, रणनीति कसरी बनाउने भन्ने दिन पनि हो । विश्वकै महिलालाई जोड्ने पर्व पनि हो । हिजो हामी भोट पनि दिन नपाउने अवस्थामा थियौं । विश्वमा धेरै देशमा आन्दोलन भए ।”

उहाँले महिलामा पनि समावेशीताको सवाल नारामा मात्र सीमित रहेको बताउनुभयो ।  उहाँले महिलाभित्र पनि हुँदा खाने र हुने खाने महिलाबिच वर्गीय विभेद कायम रहेको भनाइ राख्नुभयो । अध्यक्ष ओझाले भन्नुभयो, “समावेशीता अहिले नारामा मात्र सीमित छ । लैङ्गिक, जातिय विभेद छुवाछुत छ । महिलाभित्र पनि वर्गिय विभेद छ । हुँदा खाने र हुनेखानेबिच विभेद छ । महिला–महिलाबिच पनि समानता छैन, वर्गीय विभेद छ ।”

उहाँले सबै किसिमको विभेद अन्त गर्न तथा अवसर र पहुँचको दुरी, खाडल घटाउनका लागि समावेशीताको बाटोबाट अघि बढ्नुपर्ने भनाइ छ । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।