• २५ फागुन २०८१, आइतबार

महाधिवेशनको लोगो सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २३ गते । प्रेस चौतारी नेपालले सङ्गठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । सङ्गठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सो लोगो बिहीबार सङ्गठनको केन्द्रीय कार्यालय काठमाडौँमा सार्वजनिक गर्नुभयो । 

 प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन चैत १० देखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुनेछ ।  यस पटकको अधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ राखिएको छ । लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई समेटिएको छ । त्यस्तै इलामको श्रीअन्तुको सूर्योदयको दृश्य, नेपालको सबैभन्दा होचो भाग झापाको केचनकवल, कोशी टप्पु वन्यजन्तु आरक्ष, भोजपुर, खोटाङ र सोलुखुम्बुको बिचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (सङ्खुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगरलगायतका क्षेत्रलाई पनि लोगोमा समेटिएको छ ।