• २५ फागुन २०८१, आइतबार

अनुसन्धानका लागि जहाज भूमिस्थ

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २३ गते । ल्यान्डिङ गियरको दुई वटा पाङ्ग्रामध्ये एउटा पाङ्ग्राबिनै काठमाडौँमा अवतरण गरेको बुद्ध एयरको जहाज अनुसन्धानका लागि भूमिस्थ (ग्राउन्डेड) गरिएको छ ।

बिहीबार अपराह्न ४ बजेर ३९ मिनेटमा जनकपुर विमानस्थलबाट उडेको नाइन एन–एएनएच कलसाइन उक्त जहाजको अगाडिको भाग (नोज तर्फ) को एउटा पाङ्ग्राबिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ बजेर ५ मिनेटमा अवतरण गरेको थियो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँमा जहाज अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ (नोज ल्यान्डिङ गियर) दुई वटा नोज ह्विल हुनुपर्नेमा एउटा मात्रै पाइएको हो । जहाजको अर्को पाङ्ग्रा जनकपुरको धावनमार्गमै छुटेको भेटिएपछि प्राधिकरणले घटनाको अनुसन्धानका लागि जहाजलाई ग्राउन्डेड गरेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “जहाज काठमाडौँमा अवतरण गरेर पार्किङमा पुगेर ‘पोस्ट फ्लाइट चेक’ गर्ने बेलामा पाइलटले नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको थाहा पाएका रहेछन् । यस विषयमा बुझ्दै जाँदा जनकपुर विमानस्थलको धावनमार्गको टर्निङ प्याडमा अर्को एउटा पाङ्ग्रा भेटिएको खुल्न आएको छ । जहाजमा चालकदलबाहेक ६२ जना यात्रु थिए ।”

हरेक पटकको उडान र अवतरणमा जहाजको बाहिरी भागको परीक्षण हुने भए पनि बिहीबारको घटनामा भने एउटा पाङ्ग्रा धावनमार्गमै भेटिएकाले के भएको थियो भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्ने उहाँले बताउनुभयो ।

जहाजले धावनमार्ग छाडेपछि पाङ्ग्रा खस्यो वा धावनमार्गमा कुद्नुभन्दा पहिल्यै खस्यो भन्नेबारे खुल्न सकेको छैन । काठमाडौँमा पाङ्ग्रा नदेखिएपछि जनकपुरमा पाङ्ग्राको खोजी गरिएको थियो ।