• २५ फागुन २०८१, आइतबार

घिसिङलाई चार बुँदे स्पष्टीकरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २३ गते । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । बुधबारको मन्त्रीपरिषद् निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार विभिन्न बुँदामा आफ्नो सफाइ पेस गर्न भन्दै पत्राचार गरेको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

घिसिङलाई पदबाट किन नहटाउने भन्ने आशयसहितको पत्र मन्त्रालयका सचिव सुरेश आचार्यले हस्ताक्षर गरी पठाइएको पत्रमा चार वटा आरोप लगाएर सफाइ पेस गर्न भनिएको छ । मन्त्रालय र कार्यकारी निर्देशक घिसिङका बिचमा भएको कार्यसम्पादनबमोजिम कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, अधिकार नभएको विषयवस्तुमा निर्णय गरेको, सरकारका निर्देशन अवज्ञा गरेको र कानुन अनुसार गर्नुपर्ने कामकारबाही नगरेको भन्दै पदबाट किन नहटाउने भनी प्रश्न गरिएको छ । बुधबारको मन्त्रीपरिषद्को निर्णय अनुसार घिसिङले आगामी आइतबारसम्म मन्त्रालयमा आफ्नो सफाइ पेस गर्नुपर्ने हुन्छ । यसअघि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा विभिन्न समयमा स्पष्टीकरण सोध्दै आएको थियो ।