काठमाडौँ, फागुन २२ गते। नारी दिवसको अवसरमा बिहीबार स्रष्टा सम्मान र लघुकथा सम्बन्धी बहस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको पहिलो सत्रमा नारी स्रष्टा समाज नेपालले सम्मान तथा पुरस्कार कार्यक्रम गरेको हो।
मैतिदेवी चोकमा ३२ वर्षदेखि मकै बेचेर आफ्ना सन्तानलाई उच्च स्थान पुर्याउन सफल श्रमजीवी नारी मीना घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्थिति लम्साल बाल स्रष्टा पुरस्कार– २०८१ बाट एभरेस्ट स्कुल भक्तपुरकी सिल्भिया खड्का र अक्सिजन कवि धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी पुरस्कार–२०८१ बाट देवीप्रसाद घिमिरेलाई सम्मान प्रदान गरिएको छ।
विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुहुने नारी स्रष्टातर्फ पत्रकार सविता शर्मा, नविना श्रेष्ठ, साहित्यकार मन्दिरा मधुश्री, लता केसी, कालिका त्रिपाठी पन्त र रञ्जु खनाललाई सम्मान गरिएको छ।
कार्यक्रमको सहजिकरण रञ्जना पराजुली लम्सालले गर्नुभएको थियो भने सम्मानित प्रतिभा र अतिथिलाई नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलले स्वागत गर्नुभयो।
लघुकथा बहस अध्याय-२ सम्पन्न
दोस्रो सत्रमा लघुकथा बहस अध्याय २ सम्पन्न भएको छ। सर्वनाम थिएटरमा लघुकथासँग ममता मृदुल भन्ने लघुकथा बहसको दोस्रो अध्याय सम्पन्न भएको हो। कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीका झण्डै डेढ दर्जन लघुकथा वाचन गरिएको थियो। मधिकर्मीका लघुकथा ध्रुवराज थापा, ललिता दोषी, महेन्द्र न्यौपाने, धन्वन्तरी मिश्र कात्यायन, रामकुमार पण्डित, रमेन्द्र कोइराला , बिन्दु अधिकारी ढकाल, सत्या अधिकारी, एन्जल निलु, रन्जु खनाल, मन्दिरा मधुश्रीद्वारा लघुकथा वाचन गरिएको थियो।
कार्यक्रममा लघुकथा सम्बन्धमा उठेका प्रश्नको जवाफ तुलसीहरि कोइरालाले र शुभकामना मन्तव्य रमेन्द्र काेइरालाले दिनुभयो। उक्त अवसरमा दीपक लोहनीले ध्रुव मधिकर्मीको लघु कथाकार व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो सत्र नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।