काठमाडौँ, फागुन २२ गते। नेपाली साङ्गीतिक क्षेत्रका चर्चित कलाकारको उपस्थितिमा अस्ट्रेलियामा होली कार्यक्रम हुने भएको छ। एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)को आयोजनामा मार्च १५ तारिख शनिबार ग्रानभिल पार्कमा होली हङ्गामा आयोजना हुन लागेको हो।
ह्वाइट स्पट ग्रुपको प्रस्तुति रहेको सो होली मेलामा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारको सहभागिता रहने संस्थाका महासचिव विकास झाले जानकारी दिनुभयो। नेपाली खाना, गीत सङ्गीत र नाचगान सामेल होली हङ्गामा ग्रानभिलको मेरिल्यान्ड्स पार्कमा आयोजना हुने र प्रवेश निःशुल्क रहने महासचिव झाले बताउनुभयो।
रङको पर्वका रुपमा नेपाल तथा भारतमा मनाइने होली धेरै नेपालीको बसोबास भएका विभिन्न देशमा उत्सवका साथ मनाउन थालिएको छ। विदेशमा छरिएर रहेका नेपालीले उत्सवका रुपमा मनाउने एन्टाका अध्यक्ष रन्जित शाहले बताउनुभयो।
विशेषत फागुपूर्णिमाका दिन नेपाल तथा भारतमा हिन्दुको पर्वका रुपमा मनाइने यो पर्वलाई सिड्नीवासी नेपालीले पनि आपसमा माया सद्भाव साटेर मनाउन थालेको अध्यक्ष शाहको भनाइ छ।
कार्यक्रममा गायक सुदिन पोखरेल, सोभित बस्नेत, आरिफ रौफ, सुशान्त गौतम, सन्ध्या जोशी, उल्सन श्रेष्ठ , समय ब्यान्ड, डिजे नटकेस, मानस राज, जेनिशा गौतमलगायतको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्।