• २२ फागुन २०८१, बिहिबार

पारा एथलेटिक्स टोली भारत जाँदै

blog

भारत जाने पारा एथलेटिक्स टोली । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, फागुन २२ गते । भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार भारतको नयाँ दिल्ली जाँदैछ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । मार्च ७ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा ५ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउनुहुनेछ । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नुहुनेछ । प्रभा आङदेम्बेले महिला २ सय÷४ सय मिटर दौड र लङजम्पमा भाग लिनुहुनेछ ।

अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला रानामगर हुनुहुन्छ । 

एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोस्राे पटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो । 

खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला यो टोलीमा पनि दोहोरिनुभएको छ । दुबमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुन: टोलीमा समावेश गरिएको हो ।