• २२ फागुन २०८१, बिहिबार

नाटककार बालकृष्ण सम

blog

बालकृष्ण समको वास्तविक नाम बालकृष्णशमशेर जङ्गबहार राणा हो । उहाँ पिता जनरल समरशमशेर जङ्गबहादुर राणा र माता कीर्तिराज्य लक्ष्मीका दोस्रो सन्तान हुनुहुन्थ्यो । उहाँको जन्म विसं १९५९ माघ २४ गते काठमाडौँको ज्ञानेश्वरमा भएको थियो । चार वर्ष लाग्नेबित्तिकै उहाँलाई अक्षर लेख्न सिकाइएको थियो । ११ वर्ष भएपछि विसं १९७० मा दरबार स्कुलमा चौथो श्रेणीमा भर्ना गरिएको थियो । कक्षा १० सम्म त्यहीँ अध्ययन गर्नुभएका उहाँले कोलकाताबाट म्याट्रिक पास गर्नुभयो । हालको एसइईलाई त्यसबेला म्याट्रिक भनिन्थ्यो । पिताजीले उहाँलाई इन्जिनियर बनाउन चाहनुहुन्थ्यो । त्यसैले उहाँले विज्ञान विषय लिएर अध्ययन गर्न थाल्नुभयो तर बाध्यतावश सैनिक सेवामा प्रवेश गर्नु प¥यो । 

सममा सानै उमेरदेखि साहित्यप्रति विशेष अभिरुचि थियो । आठ वर्षको हुँदा ‘इस्सोर’ शीर्षकमा कविता लेखेर साहित्यिक यात्रा थाल्नुभएका उहाँ बहुमुखी प्रतिभा सम्पन्न हुनुहुन्थ्यो । चित्रकार, सङ्गीतकार, अभिनेता, दार्शनिक, चिन्तक, निबन्धकार, कथाकार, कवि, नाटककार आदि उहाँका व्यक्तित्वका अन्य पाटा हुन् । साहित्यका अधिकांश विधामा योगदान पु¥याउनुभएका समको विशिष्टीकृत व्यक्तित्व नाटककार हो । ‘मिलिनद’ उहाँको पहिलो नाट्य कृति हो । मुटुको व्यथा प्रकाशित भएपछि नेपाली नाट्य साहित्यमा आधुनिक युग आरम्भ भएको मानिन्छ । आगो र पानी (खण्डकाव्य–२०११) तथा चिसो चुलो (महाकाव्य–२०१५) जस्ता कृतिका सर्जक समका पूर्णाङ्की र एकाङ्की गरी ५३ नाट्यकृति छन् । 

उहाँ सैनिक सेवाबाट मेजर कर्णेल भएर फर्केपछि १९८७ मा त्रिचन्द्र कलेजमा अध्यापक बन्नुभयो । नेपाली भाषा प्रकाशिनी समितिको अध्यक्ष भएर काम गर्नुभयो । २००७ सालको क्रान्ति निकट हुँदै गएको बेला सार्वजनिक सभामा राणा शासनविरुद्ध भाषण गरेका कारण छोरा जनार्दनसहित उहाँ जेल पर्नुभयो । जेलबाट छुटेपछि सोझै न्हुछेमानको घरमा गई उनकै स्मृतिमा आफ्नो थरबाट ‘शेर जबरा’ हटाई समान अर्थ बोक्ने उपनाम बालकृष्ण सम बन्नुभयो । 

केही समय रेडियो नेपालको निर्देशक भएर पनि काम गर्नुभयो । २०१२ सालदेखि केही समय गोरखापत्रमा सम्पादकका रूपमा पनि काम गर्नुभयो । २०१४ मा स्थापित तत्कालीन रायल नेपाल एकेडेमी (हालको नेपाल प्रज्ञा–प्रतिष्ठान) का संस्थापक सदस्य बन्नुभयो । पछि सोही संस्थाको उपकुलपति पनि हुनुभयो । २०२९ सालमा त्रिभुवन पुरस्कारद्वारा उहाँ पुरस्कृत हुनुभयो । २०३५ सालमा नेपालकै सबैभन्दा ठुलो सम्मान पृथ्वी प्रज्ञा पुरस्कारद्वारा सम्मानित गरिएको थियो । नेपाली नाट्य क्षेत्रका विशिष्ट प्रतिभा नाट्य सम्राट् बालकृष्ण सम २०३८ साउन ६ गते हामीबाट सदासदाका लागि बिदा हुनुभयो । 

मुना 

Author

नवराज रिजाल