• २ कात्तिक २०८२, आइतबार

स्ववियु निर्वाचन : प्रतिस्पर्धामा २५ विद्यार्थी सङ्गठन

blog

काठमाडौं, फागुन २० गते । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालयमा २५ वटा केन्द्रीय सङ्गठन प्रतिस्पर्धाका लागि दर्ता भएका छन् । स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनको कार्यतालिका अनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएको जानकारी दिनुभयो । 

उहाँले तीन क्याम्पसहरु नेपाल ल क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस र जनकपुरको रारा (रामस्वरुप रामसागर बहुमुखी क्याम्पस) मा मङ्गलबार सङ्गठन तथा समूह दर्ता भएको जानकारी दिनुभयो । स्ववियु निर्वाचनमा सङ्घ, सङ्गठनका साथै समूह पनि दर्ता गर्न सकिने व्यवस्था रहेको उहाँको भनाइ छ । 

त्रिविमा दर्ता हुने सङ्गठनहरु अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी) वैद्य समूह, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी (विप्लव), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (छैठौं) मसाल, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी सङ्घ, अनेरास्ववियु (पाँचौं), विद्यार्थी जनमत सङ्घ, नेपाल विद्यार्थी मोर्चा दर्ता भएका छन् । 

त्रिविको ६४ मध्ये डोटी र दाङमा बाहेक ६२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । 

यसैगरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी (बहुमत), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी सङ्घ (नेपाली जनता पार्टी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी मञ्च प्रतिस्पर्धाका लागि दर्ता भएका छन् । 

अधिकारीका अनुसार सबैभन्दा धेरै ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा ३४ वटा सङ्घ, सङ्गठन तथा समूह दर्ता भएका छन्। त्रिविको ६४ मध्ये डोटी र दाङमा बाहेक ६२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । 

उहाँले भन्नुभयो, “स्ववियु निर्वाचन प्रणाली केन्द्रीय नियन्त्रणमा हुँदैन । यो विकेन्द्रीकरण छ । त्यही भएको हुनाले क्याम्पसअनुसार सङ्घ, सङ्गठनको दर्ता फरक–फरक हुन्छ । नेपाल ल क्याम्पस, जनकपुरको रारा, भैरहवा क्याम्पसमा हिजो सङ्घ, सङ्गठन दर्ता हुन सकेन । अरु आङ्गिक क्याम्पस लगभग सबैमा भयो ।” सङ्गठन दर्ता उत्साहपूर्ण ढङ्गले भएको उहाँको भनाइ छ । बुधबार स्ववियु निर्वाचनको मतदातासूची प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।