• २० फागुन २०८१, मङ्गलबार

श्रीपञ्चमीमा अक्षर किन चिनाइन्छ ?

blog

‘श्रीपञ्चमीमा यो विद्यालयले सरस्वतीपूजा र अक्षरारम्भ गराउँदै छ । त्यसैले अक्षरारम्भका लागि आफ्ना नानीबाबुलाई विद्यालयमा ल्याउनु होला’ भनी विज्ञापन गरिएको देख्ने गर्नुभएको होला । साना नानीबाबुलाई यही दिन अक्षरारम्भ किन गराइन्छ, थाहा छ ?

सबैभन्दा पहिले अक्षरारम्भको अर्थ बुझौँ । अक्षरारम्भ ‘अक्षर’ र ‘आरम्भ’ शब्द मिलेर बनेको छ । अक्षर आरम्भ अर्थात् पहिलो पटक अक्षर लेख्न सिकाउने काम । आफ्ना नानीबाबुलाई अभिभावक (बुबाआमा वा हजुरबुबा–हजुरआमा वा दाजुदिदी) ले लेख्न सिकाउनुहुन्छ । यसलाई विद्यारम्भ पनि भनिन्छ । त्यसो भए श्रीपञ्चमीकै दिन किन यो काम गरिन्छ त ?

सनातन धर्ममा लक्ष्मीलाई धनकी र कालीलाई बलकी देवी मानिए जस्तै सरस्वतीलाई विद्या र बुद्धिकी देवी (अधिष्ठात्री) मानिएको छ । कुनै पनि व्यक्तिमा देवी सरस्वतीको कृपा नभए विद्या प्राप्त हुँदैन र पाएको विद्या पनि स्थिर रहँदैन भन्ने मान्यता छ । सधैँ सत्य बोल्ने, आमाबाबु–गुरुको देवतासरह मान राख्ने, मान्यजनलाई सम्मान गर्ने, सानालाई स्नेह गर्ने प्रेरणा सरस्वतीको कृपाबाट प्राप्त हुन्छ भनिन्छ । आफ्नो धर्म–संस्कृतिको हरतरहबाट रक्षा गर्ने, कुलतमा नलाग्ने, जस्तोसुकै सङ्कटमा पनि विचलित नभई समाज र मातृभूमिका लागि निरन्तर लाग्ने प्रेरणा पनि सरस्वतीबाट पाइने विश्वास छ । त्यसैले विद्याको कामना गर्नेहरूले माता सरस्वतीको आराधना गर्छन् ।

धर्मग्रन्थ पुराणमा माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गर्नुपर्ने उल्लेख गरिएको छ । देवीभागवत महापुराणको नवम् स्कन्धको चौथो अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ । त्यसैले अध्ययन–अध्यापन गर्ने व्यक्ति तथा सङ्गीत, चित्रकला तथा नाट्यकला आदिमा लागेकाले पनि यो दिन सरस्वतीको पूजा गर्छन् । यसै दिन बालबालिकालाई विद्यारम्भ गराउन पनि पुराणमा भनिएको छ ।

यो दिन बिहानै शुद्ध भई अभिभावकले नानीबाबुलाई साथमा लिएर दीप–कलश–गणेशको पूजा गर्छन् ।  सरस्वतीको पूजा गर्छन् । नानीबाबुलाई पनि गर्न लगाउँछन् । त्यसपछि नानीबाबुलाई सरस्वतीको स्तुति (प्रार्थना) गर्न लगाइन्छ । त्यो दिन सरस्वतीको प्रार्थना गर्ने मन्त्र यस्तो छ– ‘सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।’ यसको सामान्य अर्थ वीणा र पुस्तक धारण गरेकी (हातमा लिएकी) सरस्वती देवीले मलाई विद्या प्रदान गर्नुहोस् भन्ने हुन्छ । 

यसपछि पुस्तक, लेख्ने कलम र कापीको पनि पूजा गरिन्छ । अनि नानीबाबुको हात समातेर अक्षरारम्भ गराइन्छ । अक्षरारम्भ गराउँदा सामान्यतया ‘अ’ र ‘क’ लेख्न लगाइन्छ । यसपछि नानीबाबुको लेखन र अध्ययनको काम अघि बढ्छ । कतिपयले नानीबाबुलाई सरस्वतीको मन्दिरमा लगेर दर्शन गराउँछन् र त्यहीँका भित्तामा लेख्न लगाएर पनि अक्षरारम्भ गराउँछन् ।

विद्यालयले यो दिनलाई विद्यार्थी भर्नाको अवसरका रूपमा लिएका हुन्छन् । हरेक जसो विद्यालयमा सरस्वतीको पूजासहित अक्षरारम्भ गराउने कार्यक्रम राखिएको हुन्छ । पूजापछि प्रसाद बाँड्ने चलन हुन्छ । तराईतिर विद्यालयमा प्रसादका रूपमा हलुवा पकाइन्छ । विद्याकी देवी भएकाले नै विद्यालय हाताभित्र सरस्वतीको मन्दिर बनाइएको हो ।    

        मुना

Author

रामप्रसाद धिताल