• २० फागुन २०८१, मङ्गलबार

परियोजना कार्य सिप र सिर्जना देखाउने अवसर

blog

भाइबहिनीहरूलाई शिक्षकले दैनिक जसो गृहकार्य त दिनुभएकै होला । यसबाहेक बेलाबखत विभिन्न विषयसँग सम्बन्धित परियोजना कार्य अर्थात् प्रोजेक्ट वर्क पनि दिइएको हुनु पर्छ । विशेष गरी कुनै गहन विषयवस्तुको चर्चा भएका बखत, चाडपर्व वा अन्य लामो बिदाको समयमा वा कुनै विशेष अवसरमा यस्ता परियोजना कार्य शिक्षकले दिने गर्नुभएको हुनु पर्छ । कहिले नेपालको नक्सा बनाउनुपर्ने, कहिले आफैँ बस्ने घर, कहिले चराको गुँड बनाउनु पर्छ होला है ? सहिद दिवसमा वीर सहिदलाई सम्झनु पर्ला, वातावरण दिवसमा जलवायु परिवर्तन देखाउनु पर्ला, दसैँमा जमरा उमार्नु पर्ला, तिहारमा झिलिमिली बत्ती बनाउनु पर्ला । यस्ता थुप्रै परियोजना कार्य गर्न शिक्षकले पक्कै अह्राउनुभएको होला ।

नढाँटी भन्नु पर्दा धेरै जसो विद्यार्थीले यस्ता परियोजना कार्य गर्न अल्छी गरेको देखिन्छ । कतिले त परियोजना कार्य आफैँले गरेका हुँदैनन् । उनीहरूले आफ्ना अभिभावकलाई गर्न लगाएको देखिन्छ भने अन्यले साथीको नक्कलसमेत गर्न खोजेको देखिन्छ । यो बानी पक्कै पनि राम्रो होइन । परियोजना कार्यले हाम्रो नियमित पढाइलाई मद्दत पुग्ने मात्र नभई नयाँ कुराको खोजी गर्न, समूहमा कार्य गर्न तथा आफूसँग भएका सिप र क्षमताको प्रदर्शन गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । 

भाइबहिनीको विद्यालयमा पढाइ हुने किताबका सबै पाठ पक्कै पनि सजिला छैनन् । कुनै सजिला र रुचि भएका भए पनि कतिपय बुझ्न गाह्रो हुन सक्छ । यस्ता अप्ठ्यारा विषयवस्तुलाई सजिलै बुझ्नसमेत परियोजना कार्य सहयोगी बन्न सक्छ । नेपालमा कति प्रदेश छन् भन्ने विषयको पाठमा किताब पढेर मात्र प्रस्ट नहुन सक्छ । त्यसैले यस विषयसँग सम्बन्धित तस्बिरमा प्रस्तुत गरिने परियोजना कार्यबाट बुझ्न सजिलो हुन्छ । नेपालका प्रदेश शीर्षकको परियोजना कार्यमा नेपालको नक्सा कोरेर प्रदेशलाई छुट्टाछुट्टै रङमा प्रस्तुत गर्दा कहाँ कुन प्रदेश कसरी रहेको छ भनेर जान्नसमेत मद्दत गर्छ । यसबाहेक आफू कुन प्रदेशमा बसिन्छ, यसको क्षेत्रफल कति छ, विशेषता के छ आदि थप जानकारीसमेत प्राप्त गर्न सकिन्छ । यो कार्य गर्दैगर्दा नयाँ कुरा खोज्न, समूहमा काम गर्न, कलाकौशल प्रस्तुत गर्नका साथै आफूमा आत्मविश्वाससमेत बढ्दै जान्छ । 

यो एउटा उदाहरण मात्र हो । यस्ता परियोजना कार्य पटक पटक गर्दै जाँदा अप्रत्यक्ष रूपमा सिर्जनात्मक, बौद्धिक एवं समस्या समाधान गर्ने क्षमताको विकास हुँदै जान्छ । हाम्रो कला, संस्कृति, संस्कार बुझ्न तथा यसको पालनालाई निरन्तरता दिन पनि यस कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसै गरी किताबमा भएका सैद्धान्तिक कुरालाई व्यावहारिक पक्षसँग जोड्न पनि परियोजना कार्यले पुलको काम गर्छ । 

अहिलेको प्रतिस्पर्धात्मक युगमा हरेक विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुनुपर्ने आवश्यकता देखिएको छ । लेख्न, पढ्न मात्र नभई बोल्न, सहकार्य गर्न, प्रस्तुत गर्न पनि सक्नुपर्ने हुन्छ । यसका लागि परियोजना कार्यले मद्दत गर्दछ । यी सबै कुरा त्यतिबेला प्राप्त गर्न सक्छौँ, जतिबेला तपाईं आफैँले मेहनत गरेर परियोजना तयार पार्नमा अग्रसर हुनुहुन्छ । तसर्थ विद्यालयमा शिक्षकले दिनुभएको परियोजना कार्य तपाईंकै हित र क्षमता विकासका लागि हो । कृपया अल्छी नगर्नुहोला है ?  

  मुना

Author

धर्मराज भट्टराई