हाइफा, इजरायल, फागुन १९ गते । इजरायलको हाइफा सहरको एक यातायात स्टेसनमा सोमबार भएको छुरा प्रहारबाट एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय अस्पतालका चिकित्सकले बताएका छन् । गत जनवरी १९ मा गाजामा इजरायल र प्यालेस्टिनी लडाकू समूह (हमास)बिच भएको युद्धविरामपछि इजरायलमा भएको यो पहिलो घातक आक्रमण हो ।
गाजा युद्धविरामको पहिलो चरणको वार्ता सप्ताहन्तमा समाप्त भएपछि दुई पक्षबिच वार्ता रोकिएको बेला उक्त आक्रमण भएको हो । इजरायलको ‘म्यागेन डेभिड एडोम’ नामक आपतकालीन सेवाले भनेको छ, “मेडिकल टोलीले अन्दाजी ७० वर्षीय एक व्यक्तिको मृत्यु भएको घोषणा गरेको छ र चार जना घाइतेलाई उद्धारपछि उपचार गरिरहेको छ ।”
घाइतेमध्ये अन्दाजी ३० वर्षीय एक पुरुष र एक महिला तथा १५ वर्षीय बालकको अवस्था गम्भीर रहेको छ । उनीहरू अझै खतरामुक्त भइनसकेको बताइएको छ । इजरायली प्रहरीले इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग सम्बन्धित व्यक्तिहरूलाई ‘आतङ्कवादी’ आक्रमणको संज्ञा दिए पनि सोमबारको आक्रमणमा संलग्न अपराधीको पहिचान भने हुन सकेको छैन । आक्रमणकारीले सुरुमा नै गोली चलाएको बुझिएको प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई बाहिर निकालेपछि त्यहाँ पुगेका एएफपीका पत्रकारहरूले आक्रमणकारीको शव कम्बलमुनि भुइँमा देखेको बताए । उत्तरी इजरायलको ठुलो तटीय सहर हाइफाको बस र रेल स्टेसनमा आक्रमण भएको हो । युद्धविराम लम्ब्याउने विषयमा हमाससँग असहमति भएपछि इजरायलले आइतबार गाजामा मानवीय सहायता प्रवेशमा रोक लगाएको थियो । रासस/एएफपी