• २० फागुन २०८१, मङ्गलबार

परिवारका चार जना एकै पटक सरकारी जागिरे

blog

सान्नीत्रिवेणी गाउँपालिका ६ पशुपति सज्यालका तीन छोरा र एक बुहारी। तस्वीरः प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट, फागुन १९ गते । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ को एउटा परिवारका चार जनाले एकै पटक सरकारी जागिरमा नाम निकाल्नुभएको छ । पशुपति सज्यालका तीन छोरा र एक बुहारीले एकै पटक सरकारी सेवामा नाम निकालेपछि सज्याल परिवारमा उत्साह छाएको छ । सज्यालका जेठा र माइला छोराले कृषि सेवामा, कान्छो छोरा प्रशासन सेवा र बुहारीको शिक्षक सेवा प्राथमिक तहमा खोटाङ जिल्लामा नाम निस्केपछि सज्याल परिवारमा उत्साह छाएको हो । एकै घरका चार जना सरकारी सेवामा प्रवेश त्यो पनि एक वर्षकै बिचमा जागिर हुँदा गाउँपालिकाभर चर्चाको विषय बनेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव विश्वमित्र सज्यालले सामान्य परिवारमा यो राम्रो सफलताले सबै तिर चर्चा हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “पशुपति सज्यालले गाईबस्तु पालेर आफ्नो दिन बिताउनुभयो तर छोरालाई सरकारी विद्यालयमै भए पनि पढाउन सक्दा आज यो सफलता हात परेको छ ।”  

पशुपति सज्यालका जेठा छोरा सबराज सज्याल, माइला खगेन्द्र सज्याल, कान्छा अनिपाल सज्याल र बुहारी सविना बडुवाल सरकारी स्थायी जागिरे बन्नुभएको हो । पशुपति सज्याल छोराबुहारीको सफलताले गाउँमा अन्य युवालाई पनि ऊर्जा थपेको छ । जनचेतना बहुमुखी क्याम्पसका सभापति पार्वती सज्यालले उहाँको सफलताले पछिल्लो पुस्तालाई ऊर्जा थपेको बताउनुभयो । क्याम्पसमा खासै चासो नदिने विद्यार्थीका लागि बलियो उदाहरण भएकाले अब सबैतिर शिक्षाप्रति चासो बढ्ने सभापति सज्यालको भनाइ छ ।