सुधा देव
भारदह(सप्तरी), फागुन १९ गते । सप्तरीको सप्तकोशी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय गणेश खत्री र कृष्ण विष्टलाई घाइते बनाएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।
घाइते हुनुभएको विष्टलाई उपचारको लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बिहान साढे ६ बजे फत्तेपुर बजारको रङ्गशालाको गेट छेउमा भएको एक घरको कम्पाउण्डमा अचानक बाघ देखिएपछि सप्तकोशीका सर्वसाधारण एकदमै त्रसित बनेका थिए ।
सप्तकोशीमा आतङ्क मच्चाएको स्थानीय रमानन्द चौधरीले जानकारी दिनुभयाे । यस सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बाघको नियन्त्रण गर्न कोशीटप्पु वन्यजन्तु आरक्ष केन्द्रको टोली आउने जानकारी दिनुभएको छ ।