धनगढी समाचारदाता
धनगढी, फागुन १९ गते । कैलालीको भजनी नगरपालिकामा दुई वटा काठेपुल जीर्ण भएपछि स्थानीयलाई आवागमनमा समस्या भएको छ ।
वडा नम्बर ८ काँढाढिकस्थित गैरी नाला र वडा नम्बर ३ कुसुमघाटस्थित राप्ती नालाको काठेपुल जीर्ण भएपछि स्थानीयलाई ओहोरदोहोर गर्न समस्या भएको हो । दुवै नालामा पक्की पुल नभएपछि काठेपुल बनाएर विभिन्न गाउँका बासिन्दा आउजाउ गर्दै आएका छन् ।
गैरीनालाको पुल जीर्ण भएपछि काँढाढिकमा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई आउजाउ गर्न निकै समस्या भएको बताइएको छ । नालामा पानी भएको बेला विद्यार्थीलाई साह्रै समस्या हुने गरेको विद्यालयकी शिक्षिका राधा घिमिरेले बताउनुभयो । जिल्लामा सबैभन्दा बढी डुबान हुने भजनी नगरपालिका–८ का बासिन्दाले पक्की पुल नभएका कारण २० वर्षदेखि काठेपुल प्रयोग गर्दै आएका छन् ।
यसै गरी वडा नम्बर ३ को कुसुमघाटस्थित राप्ती नालामा भने पालिकाले यसै वर्षबाट करिब ४५ लाख रुपियाँमा पुल निर्माणको काम थाल्ने नगरप्रमुखले चौधरीले बताउनुभयो । उहाँले क्रमागत योजना अन्तर्गत दुई वर्षमा पुल निर्माण हुने गरी काम थाल्ने बताउनुभयो ।