गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १९ गते । काठमाडौँको चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि तातोपानी नाकाबाट सवारीसाधन आउन सुरु गरेका छन् ।
वीरगन्जबाट मात्र कन्टेनरमा आएका कार्गो र नयाँ सवारीसाधन भन्सार जाँचपासका लागि आउने गरेकामा गत बिहीबारदेखि तातोपानी नाकाबाट समेत भन्सार जाँचपासका लागि मालवाहक सवारीसाधन आउन सुरु गरेका हुन् ।
कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका चार वटा कन्टेनर पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
अर्थ मन्त्रालयले २०८१ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताका लागि सडकमार्ग तोकेको थियो ।
यसअघि दक्षिणी नाकाहरू वीरगन्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सामान ल्याउन पाउने व्यवस्था थियो ।
समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले तातोपानी नाकाबाट समेत भन्सार जाँचपासका लागि कन्टेनरमा मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन थप टेवा पुग्ने जानकारी दिनुभयो । पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्कलगायत स्तरीय सेवा प्राप्त हुने भएकाले आगामी दिनमा आयात निर्यातकर्ताहरूले नियमित रूपमा मालवाहक सवारीसाधन सवारी चोभार आउनेसमेत उहाँले जानकारी दिनुभयो ।
आगामी दिनमा रसुवा नाकाबाट पनि भन्सार जाँचपास गर्न सवारीसाधन तथा कन्टेनर आउने वातावरण बनेको समितिले जनाएको छ । काठमाडौँमा आयात हुने सामान र काठमाडौँ वरिपरिबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न समितिले व्यवसायीलाई जोड दिएको छ । २०७८ चैत २२ गतेदेखि चोभार बन्दरगाह सञ्चालनमा आएको थियो ।