गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १९ गते । नेपाल विद्युत् प्राधिकरणले पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने जनाएको छ । प्राधिकरण अन्तर्गतको आयोजना विकास विभागले देशभरि १५६ वटा पम्प स्टोरेज आयोजना पहिचान गरेकामा ४२ हजार मेगावाटका ३३ वटा आयोजना छनोट र स्तरीकरण गरिएको छ । यस क्रममा रुकुमपश्चिमस्थित स्यार्पु तालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको र ६७० मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाले पनि दुई सय मेगावाटको पम्प स्टोरेज आयोजनाको अध्ययन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यका एवं विद्युत् भार केन्द्रनजिकै, पहुँच सडक, प्रसारण लाइनलगायतका सम्पूर्ण पूर्वाधारको सुगमता रहेको धादिङको बेनीघाट, रोराङ र चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने हुग्दी र मोवा खोलामा करिब १५९६ मेगावाटको हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । आयोजना विकास विभागले हाल आयोजनाको डेस्क अध्ययन गरिरहेको छ ।
आयोजनाका लागि हुग्दी (माथिल्लो क्षेत्र) र मोवा (तल्लो क्षेत्र) खोलामा क्रमशः करिब ४५ र १०३ मिटर अग्लो बाँध बनाई दुई वटा जलाशय निर्माण गरिने छ । विद्युत्गृह मोवाखोलामा रहने छ । हुग्दीखोलाको जलाशयमा भण्डार भएको पानीलाई प्रयोग गरी विद्युत् उत्पादन गरिने छ । विद्युत् उत्पादनपछि मोवाखोला (तल्लो जलाशय) मा भण्डारण भएको पानीलाई पम्प गरी पुनः हुग्दीखोला (माथिल्लो जलाशय) मा खसालिने छ । आयोजनालाई विद्युत्को बढी माग हुने समय (पिक) मा छ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने गरी डिजाइन प्रस्ताव गरिएको आयोजना विभागका प्रमुख नसिबमानसिङ प्रधानले जानकारी दिनुभयो ।
पम्प स्टोरेज आयोजनामा विद्युत्को न्यूनतम माग भएको (अफ पिक) अथवा ऊर्जा न्यूनतम मूल्य भएको समयमा पानीलाई पम्पले तानेर नदीको माथिल्लो भागमा बनाइएको जलाशयमा भण्डारण गरिन्छ । यसरी भण्डार गरिएको पानीलाई पिक अथवा बढी मूल्य भएको समयमा प्रयोग गरी विद्युत् उत्पादन गरिन्छ ।
विद्युत् प्रणाली स्थिरता, पिक डिमान्ड एवं खपत गरी बढी भएको विद्युत् (सरप्लस इनर्जी) व्यवस्थापन र ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज आयोजनालाई महत्वपूर्ण मानिन्छ । अफ पिक समयमा पम्प गरी भण्डारण गरिएको पानीको प्रयोगमार्फत पिक समयमा विद्युत् उत्पादन गरी आन्तरिक रूपमा खपत गर्ने र सरप्लस इनर्जीलाई भारततर्फ पिकमा महँगोमा बिक्री गर्न सकिने दाबी प्राधिकरणको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, विभागका निर्देशक प्रधानलगायतको टोलीले शनिबार धादिङ र चितवनमा पर्ने हुलिङटार–दुकिम पम्प स्टोरेज आयोजनाको स्थलगत निरीक्षण गरी त्यस क्षेत्रको अवस्थाको जानकारीसमेत लिइएको छ ।
कार्यकारी निर्देशक घिसिङले भौगोलिक अवस्थिति, वातावरणीय तथा सामाजिक अवस्था, उक्त स्थलसम्म पुग्न आवश्यक पहुँच पूर्वाधारको सुगमता, उत्पादित विद्युत् प्रवाहका लागि प्रसारण लाइनको उपलब्धता र विद्युत् भार केन्द्रभन्दा नजिक रहेकाले प्रारम्भिक अध्ययनबाट अन्य आयोजनाको तुलनामा हुलिङटार–दुकिम आयोजना निर्माणका लागि आकर्षक देखिएको बताउनुभयो ।
आयोजनालाई पहिलो चरणमा करिब ५१० मेगावाटमा निर्माण गर्ने र क्रमशः बढाउँदै पूर्ण क्षमताको बनाउन सकिने उहाँले बताउनुभयो ।
आयोजनाबाट वार्षिक रूपमा करिब तीन अर्ब ३६ करोड युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाको प्रतिमेगावाट लागत करिब पाँच लाख ८७ हजार अमेरिकी डलर (करिब सात करोड ७५ लाख रुपियाँ) लाग्ने अनुमान गरिएको छ ।