• १९ फागुन २०८१, सोमबार

सीमित भयो दुर्गमको उडान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १९ गते । आन्तरिक उडानमा रहेका साना जहाज एकपछि अर्को गरी भूमिस्थ (ग्राउन्डेड) हुँदै गएपछि दुर्गम क्षेत्रको उडान सीमित हुँदै गएको छ । 

आन्तरिकतर्फ दुर्गमतर्फ उड्दै आएका नेपाल वायु सेवा निगमका तीन, सीता एयर र समिट एयरका एक/एक गरी पाँच वटा जहाज भूमिस्थ भएपछि दुर्गम क्षेत्रको हवाई उडान सीमित बन्दै गएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “हाल निगम, समिट, सीता र तारा एयरका सानो आकारका जहाजले पहाडी तथा हिमाली जिल्लामा उडान गर्दै आएका छन् । 

दुर्घटना, निजी क्षेत्र सुगमकेन्द्रित हुँदा साना जहाजको सङ्ख्या घट्दै गएको समयमा उडान भर्दै आएका जहाजसमेत एकपछि अर्को भूमिस्थ हुँदै गएपछि दुर्गमका अधिकांश गन्तव्यमा उडान कटौती हुँदै गएको छ । यसबाट दुर्गमको हवाई सञ्जालसमेत सीमित हुँदै गएको छ ।”

हाल देशभर ५५ विमानस्थल छन् । सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमध्ये ४० प्रतिशत विमानस्थल हिमाली र पहाडी जिल्लामा रहे पनि उक्त विमानस्थलमा नियमित उडान गर्ने जहाज नहुँदा हवाई सेवा सीमित हुँदै आएको उहाँले बताउनुभयो । 

दुर्गमका अधिकांश विमानस्थलमा उडानको अनुमति लिएको निगमका जहाज भूमिस्थ भएपछि दाङ, रेसुङ्गा, इलाम, फाप्लु, ताप्लेजुङ, भोजपुर, खानीडाँडा, थामखर्क र बाजुरालगायत दुई दर्जन गन्तव्यको उडान घटेको उहाँको भनाइ छ ।

साना जहाज एकपछि अर्को गर्दै भूमिस्थ हुँदा पनि निजी कम्पनीले दुर्गमका गन्तव्यमा व्यावसायिक उडान सङ्ख्या नबढाउँदा विमानस्थलमा राज्यले गरको लगानीको प्रतिफल गुम्दै गएको उहाँले बताउनुभयो । प्राधिकरणले शुक्रबारबाट मात्रै अछामको मङ्गलसेन विमानस्थलमा पनि नियमित उडान सञ्चालनमा ल्याएको जनाएको छ ।