• २२ फागुन २०८१, बिहिबार

राष्ट्रिय सदाचार नीति कडाइका साथ लागु गर्नुपर्छ : मुख्यमन्त्री सिंह

blog

जनकपुरधाममा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, फागुन १८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राष्ट्रिय सदाचार नीति कडाइका साथ लागु गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार आयोजना गरेको राष्ट्रिय सदाचार नीति, दिगो विकास लक्ष्य र सङ्कल्प प्रस्ताव सम्बन्धमा प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

अहिले सङ्घ सरकारले पठाएको पैसाले प्रदेश र स्थानीय सरकार चल्दै आएको भन्दै तिनवटै तहका सरकारलाई आत्मनिर्भर बनाउने किसिमको राज्यको नीति निमार्ण हुनुपर्ने उहाँको भनाइ छ ।

 मुख्यमन्त्री सिंहले भन्सारको क्षेत्रमा एउटै प्रज्ञापनपत्रमा चार पटकसम्म गाडी ओहोर दोहोर गरिरहेको दृष्यहरू सहजै देख्न सकिने र यसले राजश्व चुहावट भइरहेको भन्दै निगरानीका लागि भए पनि भन्सारमा प्रदेशको पनि पँहुच हुनुपर्ने तर्क गर्नुभयो ।

उहाँले मधेश प्रदेश सरकारले प्रहरी सम्बन्धी ऐन ल्याए पनि सङ्घ सरकारले ऐन नल्याउँदा समस्या भएको भन्दै प्रहरी समायोजन नभएसम्म सुशासनको दिगोपना हुन नसक्ने ठोकुवा गर्नुभयो । 

उहाँले नेपालमा एनजिओ र आइएनजिओले लिएको नीति अनुसार कामकाज हुँदै आएको भन्दै हामीले हाम्रो आवश्यकताको पहिचान गरी विकास निमार्णको काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो प्रणालीमा रहेको त्रुटीहरूलाई हामीले सुधार नगरेसम्म सुशासन कायम गर्न कठिन हुने बताउनुभयो । 

कार्यक्रममा सहभागी प्रदेशसभाका सदस्य र पालिका प्रमुखहरूले सुशासन कायम गर्नका लागि माथिबाटै सुधारको खाँचो रहेको भन्दै यसमा हामी सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सहभागी वक्ताहरूले नेपालको संविधान उत्कृष्ट भएपनि सङ्घियता आएको सात वर्षमा पनि प्रहरी समायोजन नगरेर सङ्घ सरकारले प्रदेशलाई पङ्गु बनाउन खोजेको आरोप लगाएका थिए ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका अध्यक्ष कमला पन्थको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय सदाचार नीतिको मस्यौदा सम्बन्धमा उक्त समितिका सचिव रोजनाथ पाण्डेले प्रस्तुति गर्नुभएको थियो भन्ने उक्त समितिका सदस्य डा. अन्जना शाक्यले सङ्घ, प्रदेश र स्थानीय सरकार बिचमा समन्वय कसरी गर्ने विषयमा सहभागीसँग सुझाव लिनु भएको थियो । कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभा सदस्य, नीति तथा योजना आयोग मधेश प्रदेशका अध्यक्ष सोहन साह र स्थानीय पालिका प्रमुखहरूको सहभागिता रहेको थियो ।