• २० फागुन २०८१, मङ्गलबार

भीम विराग प्रतिष्ठानद्वारा ११ जना स्रष्टा सम्मानित

blog

सम्मानित हुनुभएका स्रष्टा सामूहिक तस्बिर खिचाउँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, फागुन १८ गते ।
मकवानपुरको अग्रणी साहित्यिक संस्था भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले एकै मञ्चमा विभिन्न विधाका ११ जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले विशेष साङ्गीतिक तथा पुरस्कार समर्पण समारोहको आयोजना गर्दै शनिबार हेटौँडामा चार जनालाई राष्ट्रिय पुरस्कार र अन्य सात जनालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।

प्रतिष्ठानले यस वर्षको भीम विराग राष्ट्रिय साहित्य पुरस्कार काठमाडौंका साहित्यकार माया ठकुरीलाई प्रदान गरेको छ । यस्तै, राष्ट्रिय सङ्गीत पुरस्कार रुपन्देहीका गायक हेमन्त शर्मा, राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटा र राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौंका पत्रकार ठाकुर बेल्वासेलाई प्रदान गरिएको छ । यी सबै पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।

यस्तै २० हजार रुपियाँ राशिको रामकृष्ण बानिया स्मृति लोक सङ्गीत पुरस्कार पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई प्रदान गरिएको छ । १५ हजार रुपियाँ राशिको तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरका महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार मकवानपुरकै महिला उद्यमी मेनका श्रेष्ठलाई प्रदान गरिएको हो ।

१५ हजार रुपियाँ राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट मकवानपुरका बाल साहित्य अभियानकर्मी दीपक गौतम सम्मानित हुनुभएको छ । भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरका रितिका छत्कुलीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि नगद १० हजार रहेको छ । १० हजार राशिको मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मकवानपुरका स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिएको छ ।

वरिष्ठ कला साधक भीम विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ ।

हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठ, ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, महासचिव छवि अनित्य लगायतकाले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।