• ७ वैशाख २०८२, आइतबार

पालिकाकै बजेटबाट बन्यो पुल

blog

शुक्लागण्डकी वडा नम्बर ८ र १० जोड्ने पुल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन १८ गते ।
तनहुँको एक स्थानीय तहले आफ्नै बजेटबाट छाटो समयमा नै पुल निर्माण गरी स्थानीयको सपना पूरा गरिदिएको छ । शुक्लागण्डकी नगरपालिकाले आफ्नै बजेटमा पुल निर्माण गरेर जोखिम पूर्ण तरिकाले खोला वारपार गर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको हो ।

वडा नं. ८ र १० लाई जोड्ने बाङ्गे खोलामा पुल निर्माण गरिदिएपछि स्थानीय हर्षित छन् । पुल बनेपछि बालबालिका विद्यालय आउँदा, जाँदा खोलाले बगाएर लैजान्छ कि भनेर चिन्ता हराएको स्थानीय दिप नेपालीले बताउनुभयो । साथै पुल निर्माणपछि बिरामी हुँदा चाँडै अस्पताल जान पाउँदा खुसी लागेको उहाँले बताउनुभयो ।

वडा र नगरपालिकाका प्रतिनिधिलाई पुलकै अभावमा आफुहरुले भोगेको समस्या बारम्बार जानकारी गराएपछि समाधान भएको उहाँले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नागरिकको चाहाना र आवश्यकताको आधारमा नगरमा पूर्वाधार विकास गरिएको बताउनुभयो । निर्वाचनको बेलामा जनतासँग गरेको प्रतिवद्धताहरुलाई क्रमैसँग पूरा गर्ने अभियानमा रहेको दाबी गर्नुहुँदै नगर प्रमुख पण्डितले विकासको मुलप्रवाहबाट पछि परेको नगरवासीको आवश्यकतालाई प्राथमिकता दिएर काम गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

जनताका लागि सहज होस् भनेर छोटो समयमा नै पुल निर्माण गरिएको नगर प्रमुख पण्डितले बताउनुभयो । पण्डितले भन्नुभयो, ‘‘डेढ महिनामै पुल निर्माण पूरा भएको छ निर्वाचनको बेला गरेको बाचा पुरा गरेका छौं ।’’

पुल निर्माणपछि शुक्लागण्डकी १० को कुखुरे, कटहरे, लहरे, पातिस्वाँरा, सिम्ले र मिनामखानीका सयौँ जनताले सहज सुविधा प्राप्त गर्ने वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिनुभयो । वडाध्यक्ष भट्टराईले वडाको सबैभन्दा महत्त्वपूर्ण योजना पूरा भएको बताउनुभयो । नागरिकको समस्यालाई सम्बोधन गर्न तदारुकता देखाएको नगरपालिकाले छोटो समयमा नै पुल निर्माण गरिदिएको भन्दै स्थानीय हिमा भुजेलले खुशी व्यक्त गर्नुभयो ।

उहाँले पुल शिलान्यास भएको दुई महिना नबित्दै निर्माण भएको जानकारी दिर्नुहुँदै वर्षाैदेखिको माग पूरा भएको बताउनुभयो । पुल २१ लाख ५० हजारको लागतमा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको अनुसार सो पुलको लागि ३२ लाख रुपियाँ विनियोजन गरेकोमा २१ लाख ५० हजारमा टेन्डर परेको थियो । नगर प्रमुख पण्डितका अनुसार निर्वाचनको समयमा गरेको बाचा अनुसार थप पाँच वटा पुल निर्माण गरिएका छन् । ढोरवाराही मन्दिर जाने बाटोमा, मान्दे्र बजार, कटहरे जाने बाटोमा, सुन्दरी गाउँ जाने बाटो र तीन खोलीदेवी जाने बाटोमा नगरपालिकाकै बजेटबाट पुल निर्माण गरिएको छ । 

नगर प्रमुख पण्डितले भन्नुभयो, ‘‘ठुलो पुल निर्माणका लागि प्रदेश र सङ्घ गुहारेका छौं, तर साना पुल हामी आफैँ बनाएर जनता सपना पूरा गरिरहेका छौं ।’’