• १७ फागुन २०८१, शनिबार

ऐतिहासिक स्थल ज्यामरुककोटमा संरक्षणमा जोड

blog

हिमालयन बाबा लगायतको टोलीले खड्गभवानी कोत अवलोकन पछि सामुहिक तस्बिर खिचाउँदै ।

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन १७ गते । म्याग्दी जिल्लाभित्रका ऐतिहासिक महत्त्वको स्थलहरूको प्रचारप्रसार गरेर पर्यटकको आगमन बढाउनु पर्नेमा स्थनीयले जोड दिएका छन् । 

बेनी नगरपालिका–२ ज्यामरुककोटमा रहेको ऐतिहासिक स्थल खड्गभवानी कोतमा धार्मिक व्यक्तित्व हिमालय बाबा सहितको टोलीले ऐतिहासिक सम्पदाहरूको अवलोकनको क्रममा उक्त धारणा राख्नुभएको थियो ।

ऐतिहासिक ज्यामरुककोट र यसको विरासतलाई जोगाउनु पर्नेमा ज्यामरुककोट खड्गभवानी कोत गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले जोड दिनुभएको थियो । ऐतिहासिक ज्यामरुककोट क्षेत्रमा वि.सं. १२ सय देखि १५ सय सम्म थापा राज्य, १५०० देखि मल्ल राज्य रहेको ज्यामरुककोटमा १६४९ मा खड्गभवानी कोतको स्थापना भएको अध्यक्ष घिमिरेको भनाइ छ । 

उक्त समयमा कोत स्थापना सँगै गुठी सृजना गरिएको र हाल बेनी नगरपालिका–२ बगरफाँटमा १२ रोपनी, भुमेमा ८ रोपनी, नरसिंह र कन्थराजमा ४ रोपनी र कोत रहेको क्षेत्रमा ५ रोपनी १० आना गुठी रहेको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–२ का अध्यक्ष यामबहादुर कार्कीले सत्रौँ शताब्दीका ऐतिहासिक सम्पदाहरू मार्फत पर्यटकीय क्षेत्रको थप प्रचार र पर्यटनको आगमन बढाउनका लागि सबैले प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले ऐतिहासिक, सामरिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको संरक्षण र तिनको व्यवस्थापन गर्दै अहिले यहाँका स्थानीय यो क्षेत्रलाई ऐतिहासिक पर्यटकीय क्षेत्र निर्माणमा यस क्षेत्रका सबै जुटेको जानकारी दिनुभयो ।

विसं १२४६ मा धर्मराज थापा यहाँका राजा भएपछि ज्यामरुककोट नामाकरण गरिएको पुराना तथ्यहरूले देखाउने स्थानीयको भनाइ छ । ज्यामरुककोट विसं १७४३ मा मलेवम मल्ल पर्वत राज्यका राजा भएपछि राजनीतिक रूपले र सामरिक महत्त्वको ठाउँ भनेर चिनिएको हो ।

पर्वत राज्यको महत्त्वपूर्ण गढ मानिएको ज्यामरुककोटका ऐतिहासिक सम्पदाहरु संरक्षण गरी अहिले पर्यटकीय स्थल बनाउन लागेका छौं, अध्यक्ष घिमिरेले भन्नुभयो । ज्यामरुककोटका ऐतिहासिक र प्राकृतिक सम्पदाहरू खोज र अनुसन्धान गरी संरक्षणमा जुट्नु पर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने प्रतिबद्धता हिमालयन बाबाले जनाउनु भएको अध्यक्ष घिमिरेले बताउनुभयो । 

स्थानीय र प्रदेश सरकारले साग पनि सहकार्य गर्नुका साथै सहयोग लिएर ज्यामरुककोट जस्तो ऐतिहासिक पर्यटकीय स्थलको व्यापक प्रचार गर्ने हाम्रो योजना हो, उहाँले थप्नुभयो ।

इतिहासकार मोहनबहादुर मल्लको ‘पर्वतको इतिहास’ नामक पुस्तकमा विसं १२४६ मा कालु थापा ताकमका राजा भएको र पछि उनका जेठा छोरा पुण्कर पुला, माहिला तारापति ताकम र कान्छा धर्मराज ज्यामरुकका राजा भएको उल्लेख छ। उनै धर्मराज नै ज्यामरुकको पहिलो राजा भन्ने मात्र अहिलेसम्म खुलेको अध्यक्ष घिमिरेले बताउनुभयो । 

विसं १५४५ मा समाल शाही वंशी डिम्बवम मल्लले ताकम राज्यमाथि विजय गरेपछि क्रमशः पुला र ढोलठानपछि ज्यामरुककोटलाई समेत पर्वत राज्यमा गाभ्नु भएको इतिहासमा उल्लेख छ । विसं १८४३ मा बहादुर शाहले तत्कालीक पर्वत राज्यलाई जितेपछि ज्यामरुककोट पनि पर्वत राज्यकै अंश भएकोले विशाल नेपालमा गाभिन पुग्यो ।

पाँच सय वर्ष पुरानो ज्यामरुककोटमा अहिले पुरातात्विक महत्त्वका सम्पदाहरुको संरक्षण र मौलिकस्वरूप नबिग्रने गरी पुनः निर्माण गर्ने योजना बनाएको वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो।

ज्यामरुककोटको खड्गभवानी कोतमा राजा भर्तिवम मल्लले प्रयोग गरेका नौ थान खुँडा, तोपको गोला र तरवार, एउटा ढाल (फोडिएको अवस्थामा) बाहेका अरू हातहतियारहरू पनि रहेका छैनन् । तत्कालीन राजदरबार (अहिलेको कोत) को सुरक्षाका लागि बनाएको पर्खालमा प्रयोग गरिएका इँटा र ढुङ्गाहरू पनि पहिचान हुन नसकेको खड्गभवानी कोतका पुजारी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।