लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन १७ गते। बाराको कोहल्वीमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेश प्रदेशको पाँचौँ साधारण सभामा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानको समावेशीतासम्बन्धी प्रावधानको उचित प्रयोग नभएको बताउनुभएको छ।
शनिबार बाराको कोहल्वीमा आयोजित फोनिज मधेश प्रदेशको पाँचौँ साधारण सभामा सभामुख मण्डलले सो बताउनुभएको हो। उहाँले संविधान बनेपछि पनि देश पुरानै शैलीमा फर्किरहेको जिकिर गर्दै भन्नुभयो, “संविधानको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पूर्ण समावेशीता सम्भव भएको छैन।’’
सभामुख मण्डलले अधिकारका आन्दोलनमा जनजातिका मुद्दा पर्याप्त रूपमा उठाउन नसकिएको भन्नुहुँदै नेतामा इमानदारिताको अभाव रहेको आरोप समेत लगाउनुभयो। उहाँले भन्नुभयो, “नेतालाई विश्वास गर्यौं, तर उनीहरूले इमानदारिता देखाएनन्, जसका कारण समावेशीता पूर्ण रूपमा लागु हुन सकेन।’’
उहाँले संविधानले निर्दिष्ट गरेका मुख्य बुँदालाई उपेक्षा गर्दै कानुन निर्माणमा ध्यान केन्द्रित गरिएकाले संविधानको उचित प्रयोग हुन नसकेको उल्लेख गर्नुभयो। सभामुख मण्डलले समाजमा इमानदार व्यक्ति उपेक्षित भइरहेका र बेइमान प्रतिष्ठित बनिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले पत्रकारिताले जनताको आवाजलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ।
यस्तै मधेश प्रदेशका सांसद मन्जु थापामगरले सत्यतथ्य बाहिर ल्याउन र विषयको उत्थान गर्नमा पत्रकारिताले जोड दिनुपर्ने बताउनुभएको थियो। नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले फोनिजलाई अझ सशक्त बनाउन नीतिगत निर्णय लिनु आवश्यक रहेको बताउनुभएको छ।
कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य सिकेन्द्र पसमान, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारालगायतले समावेशीताको विषयमा जोड दिनुभएको थियो। यसैगरी फोनिजका उपाध्यक्ष तथा रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक अमरध्वज लामाले आदिवासी जनजातिका मुद्दालाई फोनिजले सशक्त रूपमा उठाउने विश्वास व्यक्त गर्नुभयो।
फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले समतामूलक समाज निर्माणका लागि समावेशीताको पूर्ण पालना गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले महासङ्घजस्तो मार्गदर्शन दिने संस्थाले स्वयं सही दिशा अपनाउनुपर्ने बताउनुहुँदै भन्नुभयो, “समाज निर्माणको यात्रा हामीले आफ्नै घरबाट सुरु गर्नुपर्छ।’’
सो अवसरमा पत्रकारितामा योगदान दिएका गोरखापत्रकर्मीसहित चार जना पुरस्कृत भएका छन्। पुरस्कृत भएका पत्रकारहरुमा देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार राससका बारा प्रतिनिधि सत्यप्रसाद श्रेष्ठ र सामुदायिक रेडियो सर्लाहीमा कार्यरत रिना आलेलाई प्रदान गरिएको फोनिजका मधेशका महासचिव बृजमान तामाङले बताउनुभयो।
यस्तै क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकको जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरी र सप्तरीका पूर्वेली दृष्टि साप्ताहिकका सम्पादक तथा पब्लिक प्रेस दैनिकका सह–सम्पादक सप्तरीका डम्बर राईलाई प्रदान गरिएको महासचिव तामाङले बताउनुभयो। उहाँले पुरस्कृत पत्रकारलाई १० हजार राशिसहित सम्मान गरिएको बताउनुभयो।
सभामा प्रदेशको आठवटै जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका फोनिजका सदस्य तथा विभिन्न पत्रकार सङ्घ संस्थाका प्रतिनिधिसहित ६० जनाभन्दा बढीको सहभागिता रहेको फोनिजका प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिनुभयो।