काठमाडौँ, फागुन १७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताउनुभएको छ । नेपाल राष्ट्रिय होटल व्यावसायी सङ्घको प्रथम अधिवेशन आज उदघाटन गर्दै उहाँले सरकारको आयु कहिले होला भन्ने भनेर हल्ला चलाउनेहरू मुलुकमा अस्थिरतामा रम्न चाहनेहरूको सपनामात्र रहेको बताउनुभयो ।
“कहिलेकाहीँ यो सरकारको आयु कहिले होला भनेर हल्ला चलाउने गरिन्छ । एक-एक महिनामा एउटा-एउटा हल्ला चलाउने गरिन्छ, अब सरकारको आयु सकियो भन्ने कुरा गरिन्छ”, उहाँले भन्नुभयो, “त्यो हल्ला नेपालमा अस्थिरतामा रम्न चाहनेको सपनामात्र हो । त्यो हल्लाले अहिलेको सरकारलाई कुनै प्रकारको प्रभाव पार्दैन ।”
महासचिव पोखरेलले सरकारले निश्चित उद्देश्य रहेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबिचको सहकार्य निरन्तर रहने बताउनुभयो । अहिलेको दुई पार्टीको सहकार्य अस्थिरता समाप्त गर्ने रहेको भन्दै उहाँले राजनीतिक धुव्रीकरणका माध्यमबाट मुलुकमा स्थायी सरकारको निर्माण सुनिश्चित गर्नुपर्ने मान्यताको पक्षमा दुई पार्टी रहेको बताउनुभयो ।
भविष्यमा जनताले मन पराएको पार्टी सरकारमा र अर्को ठुलो पार्टी प्रमुख प्रतिपक्षमा जानुपर्ने उहाँको भनाइ छ । उहाँले अहिले ल्याउन थालिएका छ वटा अध्यादेश मुलुकको व्यावसायिक वातावरण, सुशासन कायम गर्ने कुरामा केन्द्रित रहेको बताउनुभयो । मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार गम्भीर रहेको भन्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नका लागि योजनाबद्ध पहल भइरहेको बताउनुभयो ।
सरकारले व्यावसायिक वातावरण बनाउने कुरामा अत्यन्तै गम्भीरतापूर्वक लागेको उल्लेख गर्दै व्यावसायिक वातावरण तयार गर्न कुनै कानुनले व्यवधान खडा गरेको भए त्यसलाई सुधार गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो । होटल व्यवसायको सेवा विस्तारबिना पर्यटनको सम्भावना नरहेको बताउनुभयो । महासचिव पोखरेलले समग्र अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न नसकेको भनाइ राख्नुभयो ।
उहाँले मुलुक अहिले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलियो भएको भन्दै त्यो राम्रो नभएको सुनाउनुभयो । “निर्वाहमुखी अर्थतन्त्र भएको समयमा हुन्थ्यो भने अनौपचारिक अर्थतन्त्र बलियो हुनु नराम्रो थिएन”, उहाँले भन्नुभयो, “तर आज हामी जुन प्रकारको आर्थिक, सामाजिक ढाँचाभित्र रहेका छौँ । त्यो ढाँचाले औपचारिक अर्थतन्त्र कमजोर हुने र अनौपचारिक अर्थतन्त्र बलियो हुने भन्ने कुरा राम्रो होइन ।”
नेपाल लोकतान्त्रिक व्यावसायी सङ्घका केन्द्रीय अध्यक्ष लीलाप्रसाद ढकालले सरकारले व्यवसायको वातावरण निर्माण बनाउनुपर्नेमा जोड दिनुभयो । होटल व्यवसायी सङ्घका अध्यक्ष माधव नेपालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भइरहेकाले व्यावसायी उत्साही भएको बताउनुभयो । सङ्घले आजै नयाँ नेतृत्व चयन गर्ने छ । रासस