• १७ फागुन २०८१, शनिबार

खानेपानी मन्त्री यादव भारत प्रस्थान

blog

खानेपानीमन्त्री प्रदीप यादव ।

काठमाडौँ, फागुन १७ गते । खानेपानीमन्त्री प्रदीप यादव आज छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित जलशक्ति मन्त्रालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सरकारकातर्फबाट सहभागी हुन मन्त्री यादव भारत प्रस्थान गर्नुभएको खानेपानी मन्त्रालयका सहसचिव ई मीना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यही फागुन १९ गते सोमबार हस्ताक्षर गरिने समझदारीपत्र कार्यक्रममा सहभागी हुन मन्त्री यादव आज २ः०० बजे भारत प्रस्थान गर्नुभएको हो । उक्त समझदारीपत्रमा सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले हस्ताक्षर गर्नुहुने छ ।” भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न समझौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ । 

खानेपानीको  स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौताको लक्ष्य रहेको सहसचिव ई श्रेष्ठले बताउनुभयो । उक्त सम्झौतामा भूगर्भीय पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षात्को पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने जनाइएको छ । 

उक्त सम्झौताले भारत र नेपालबिच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने अपेक्षा गरिएको छ । यसैगरी भारतको नीति आयोगसँग समेत छलफल गर्ने र त्यहाँका केही राम्रा खानेपानी आयोजनाको अवलोकन भ्रमणसमेत गरिने कार्यक्रम पनि तय भएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ । 

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको छ । रासस