• १७ फागुन २०८१, शनिबार

सिदिङ्वा र मिक्वाखोलामा माओवादीको कमिटी चयन

blog

माओवादी केन्द्र सिदिङ्वा गाउँपालिका कमिटीका पदाधिकारी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन १७ गते। ताप्लेजुङको सिदिङ्वा र मिक्वाखोला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी चयन भएको छ।गाउँपालिका कमिटीको अधिवेशनमार्फत उक्त पालिकाहरुमा माओवादी केन्द्रको नयाँ कमिटी चयन भएको हो ।

शनिबार बिहान सम्पन्न माओवादी केन्द्र सिदिङ्वा गाउँपालिकाको तेस्रो अधिवेशनले अमरबहादुर लिम्बू अध्यक्ष रहेको पालिका कमिटी चयन गरेको छ।लिम्बू दोस्रो कार्यकालका लागि गाउँपालिका कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो।कुल ४१ सदस्य पालिका कमिटी उपाध्यक्षमा गौरीमान लिम्बू, यामबहादुर बानियाँ र अमृता तामाङ लिम्बू चयन हुनुभएको छ ।

पालिका कमिटी सचिवमा किरण लिङ्देन, सहसचिवमा सनम थापा र कोषाध्यक्षमा तेन्जित कार्की चयन हुनुभएको निर्वाचन समिति संयोजक प्रेम घिमिरेले जानकारी दिनुभयो।पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व अर्थमन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) ले गर्नुभएको थियो।नयाँ कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण भने पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री गराउनुभएको थियो ।

यसैगरी माओवादी केन्द्र मिक्वाखोला गाउँपालिका कमिटी अध्यक्षमा डण्डु लामा शेर्पा चयन हुनुभएको छ।कमिटीको तेस्रो अधिवेशनले लामा अध्यक्ष रहेको ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो।पालिका कमिटीको उपाध्यक्षमा ऐश्वर्यराज थापा, दीपक लिबाङ, मनकुमारी लिम्बू र सचिवमा विनोद साँवा लिम्बू चयन हुनुभएको छ।पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका अध्यक्ष सुवोध श्रीपाइलीले गर्नुभएको थियो।