राजन रावत
हुम्ला, फागुन १७ गते । हुम्ला जिल्लाका आन्तरिक तथा जिल्ला बाहिरका लागि सञ्चालनमा रहेका यात्रु बोक्ने यातायातका साधन कारबाहीमा परेका छन् । सिट क्षमताभन्दा बढी यात्रु बोकेको पाइएपछि ट्राफिक प्रहरीले स्थलगत रूपमा ती सवारीसाधनलाई कारबाही गरिएको हो ।
ट्राफिक प्रहरी हवलदार बसन्त केसीले सिमकोटबाट सलीसल्लामा यात्रा गर्ने क्रममा क्षमताभन्दा बढी यात्रु बोक्दै गरेका यातायातका साधनहरूलाई कारबाही गरिएको बताउनुभयो । उहाँले हाल जिल्लाभर सञ्चालनमा रहेका बोलेरो जीपहरूको क्षेमता पाँच सिट भएको भएपनि दस जनासम्म यात्रु बोकेको पाइएको कारण कारबाही गरिएको बताउनुभयो ।
उहाँले एक्कै दिनमा तीन वटा बोलेरो जीपहरूले क्षमताभन्दा बढी यात्रुहरू बोकेको कारण कारबाही गरिएको बताउनुभयो । ती कारबाही गरिएको बोलेरो जीपहरूमध्ये एउटा जीपको हुडमा यात्रु बोकेको थियो भने दुई वटाले क्षमताभन्दा बढी यात्रुहरू बोकेको कारण कारबाही गरिएको हो । कच्ची र साँघुरो सडकमा यसरी क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने भएको कारण पनि दुर्घटना हुने गरेको उहाँले बताउनुभयो ।
कारबाहीमा परेका जीपहरूलाई एक हजार पाँच सय रुपियाँदेखि दुई हजार रुपियाँसम्म जरिवाना गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले नियमलाई कडिकडाउ रूपमा कार्यान्वयन गर्न सर्केगार्ड, हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीमा रहेको ट्राफिक प्रहरीलाई निर्देशन जारी गरिएको बताउनुभयो ।
दुर्घटना रोक्न र सुरक्षित रूपमा यात्रा गर्नका लागि यातायातका साधनहरुलाई कडाइ गरिएको उहाँले बताउनुभयो । उहाँले ट्राफिक प्रहरी, सुरक्षा निकाय, स्थानीय प्रशासन मात्र नभएर सबै सरोकारवाला पक्षले यस्ता नियम विपरितका कार्य गरेमा जानकारी गरेर सहयोग गर्न आग्रह गर्नुभयो ।
यसरी नियम उल्लङ्घन गर्ने यातायातका साधनहरूबाट साढे सात महिनामा ट्राफिक प्रहरी दुई लाग पचास हजार रुपियाँ जरिवाना समेत असुल गरि सकेको छ । केही दिन अघि मात्र जिल्ला राजमार्ग सुचारु समन्वय समितिको बैठकले क्षेमता भन्दा बढी यात्रुहरू बोक्ने यातायातका साधनहरूलाई नियमानुसार कारबाही गर्ने निर्णय गरेको थियो ।