साजन परियार
पर्वत, फागुन १७ गते । सामाजिक विकास कार्यालय पर्वतले निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सुरु गरेको छ । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूलाई विभिन्न प्रतियोगितात्मक परीक्षाहरूमा सक्रिय रूपमा सहभागी गराउँदै सरकारी सेवा प्रवेशमा जागरुक गराई सकारात्मक भावना अभिवृद्धि गराउने उद्देश्यले कार्यालयले २० दिने निःशुल्क कक्षा सञ्चालन गरेको हो ।
कार्यालयले अप्राविधिक तर्फको राजपत्र अनंकित द्धितिय सहायकस्तर चौथो पाठ्यक्रम अनुसार लोकसेवा आयोगले लिने नायव सुब्बा र खरिदारको निःशुल्क तयारी कक्षा सञ्चालन गरेको हो ।
तयारी कक्षाका लागि गण्डकी प्रदेशभित्रका जिल्लाका लोक सेवा तयारी कक्षामा सहभागी हुन चाहने तथा निश्चित योग्यता पुगेका महिलाहरूलाई सहभागी गराइएको कार्यालयका सुचना अधिकारी बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँले विशेषत : आदिवासी जनजाति, दलित, अपाङ्गता भएका, मघेसी र यसभन्दा महिला यस्तो अवसर नपाएका महिलाहरूलाई प्राथमिकतामा राखेर आयोगका कक्षा सञ्चालन गरेको बताउनुभयो ।
आयोगका कक्षा लिनका लागि ४० जनाको कोटा रहे पनि २८ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्येबाट पनि १८ जना मात्र कक्षामा सहभागी भएको घिमिरेले बताउनुभयो । "यतिबेला विदेशी शिक्षा र विदेशप्रति नेपाली युवाहरूको जबरजस्ती आर्कषण देखिन्छ । शैक्षिक योग्यता र गच्छेले भ्याएसम्म प्लस–टू सकेपछि विदेशतिरै जाने युवाहरूको सङ्ख्या ठुलो छ । त्यसको न्यूनीकरणका लागि लोक सेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरेका हौँ," घिमिरेले भन्नुभयो । लोकसेवा तयारी कक्षाका लागि जिल्लाका अनुभवी प्रशिक्षकाद्धारा प्रशिक्षण दिइएको छ । सैद्धान्तिक र प्रयोगात्मक विधिद्वारा कक्षा सञ्चालन गरिएको कार्यालय प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।
लोकसेवा तयारी कक्षा सञ्चालनको माध्यमबाट निश्चित योग्यता पुगेका महिलाहरूको सरकारी सेवा प्रवेशमा सशक्तीकरण गर्ने उद्देश्यले तयारी कक्षा सञ्चालन गरेको पौडेलले बताउनु भयो । कार्यालयले विगतका वर्षमा चलाएको निःशुल्क तयारी कक्षामा उल्लेखनीय सहभागीता रहे पनि यो वर्ष महिलाहरूको सङ्ख्यामा कमी आएको उहाँको भनाइ छ । सहभागीलाई बिहानको समयमा ३ सेसनका दरले कक्षा सञ्चालन गरिएको छ ।
महङ्गो रकममा खर्च गरेर लोकसेवा तयारीको कक्षा लिन बाध्य भएका हामी जस्ता युवतीका लागि निःशुल्क तयारी कक्षा सुनौलो अवसर भएको परीक्षार्थी रिता परियारले बताउनु भयो । उहाँले बागलुङ जिल्लाको जैमिनी नगरपालिकाबाट कक्षा लिन आएको प्रतिक्रिया दिनुभयो । पढेलेखेको भए पनि समय र परिस्थितीले गर्दा पढ्न नपाएका हामीजस्ताका लागि यो कार्यक्रमले ठुलो ठेवा पुग्ने उहाँको भनाइ छ ।