खलङ्गा समाचारदाता
जाजरकोट, फागुन १७ गते । यहाँका ग्रामीण सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको छ । जुनीचाँदे, कुसे, बारेकोट गाउँपालिकामा स्थानीय सरकारले खनेका सडक मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्नु परेको हो ।
स्थानीय सरकारको लापर्बाही र बेवास्ताले सडक मर्मत नभएपछि जनताले सहज रूपमा यात्रा गर्न नपाएका हुन् । बारेकोट गाउँपालिकाको पहिलो कार्यकालमा मुल्सामबाहेक सबै गाउँबस्ती सडक सञ्जालमा जोडिए पनि मर्मत नगरी बेवास्ता गरेपछि सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।
बारेकोट गाउँपालिका–५ का धीरेन्द्र शाहका अनुसार ग्रामीण बस्तीका जनतामा यातायातको पहुँच पु-याउन खनिएका सडक स्थानीय सरकारले मर्मत नगरेपछि यस्तो अवस्था आएको हो । सदरमुकाम खलङ्गादेखि करिब २८ कोस टाढा रहेको बारेकोट गाउँपालिकादेखि सदरमुकाम आउजाउ गर्न स्थानीयवासी दुई दिन पैदल हिँड्ने गरेका थिए । ट्र्याक खोलेका सडक मर्मत नगरी जबरजस्ती सवारीसाधन सञ्चालनमा आएका छन् ।
नेपाली कांग्रेसका नेता मुक्तिप्रसाद आचार्यले ग्रामीण बस्ती सडक सञ्जालको पहुँचमा जोडिएपछि स्थानीय उत्पादनलाई बजार लैजान, जटिल तथा सामान्य बिरामी, सुत्केरी, गर्भवती महिलाले समयमा उपचार सेवा पाउन सहज हुने बताउनुभयो । जनता लाभान्वित हुने कार्यव्रmमलाई प्राथमिकता दिन स्थानीय तहलाई उहाँले आग्रह गर्नुभयो ।
बारेकोट गाउँपालिका–५ का केशव रोकायाले सडक मर्मत नगरेपछि सर्वसाधारण बिरामी पर्दा डोकोमा बोकेर प्रस्तावित आधारभूत अस्पताल लिम्सा लैजाने गरेको बताउनुभयो । जनताको आवश्यकताका कार्यव्रmम र योजनालाई बेवास्ता गर्दा दुःख पाएको उहाँको भनाइ छ ।
बारेकोट गाउँपालिका–३, जुम्लाको सिमानासँग जोडिएको बस्ती मुल्सामगाउँ सडक सञ्जालमा नजोडिएपछि सर्वसाधारणले बिरामीलाई घण्टाँै हिँडेर लिम्सा अस्पताल ल्याउने गरेका छन् । मर्मत नगरेका सडकमा यातायात व्यवसायीले हचुवाको भरमा महँगो भाडा असुल्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले अनुमति नदिएका जीर्ण ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने गरिएको छ । स्थानीय सरकारले सडक मर्मत नगरेपछि यातायात व्यवसायीले मनपरी गर्दा जनताले दुःख पाउने गरेका छन् । अन्नबाली उत्पादन पनि न्यून रहेको बारेकोट गाउँपालिकामा आयतित खाद्यवस्तु उकालोमा बोकेर लैजाने गरिएको छ । सडक बिग्रिएपछि पैदल हिँड्नसमेत समस्या हुने गरेको छ ।