• १७ फागुन २०८१, शनिबार

पाहुनाको पर्खाइमा रानीसैन

blog

हिमाली गाउँपालिकामा रहेको एक पर्यटकीय स्थल रानीसैन  । तस्बिर सौजन्य : गोविन्दबहादुर मल्ल

बाजुरा समाचारदाता

बाजुरा, फागुन १७ गते  । बाजुराको एक पर्यटकीय स्थल रानीसैन लामो समयदेखि पाहुनाको पर्खाइमा रहँदै आएको छ । प्राकृतिक रूपमा निकै आकर्षक रानीसैन बाजुराकै एक प्रमुख पयटकीय स्थलका रूपमा रहेको छ ।

सुन्दरताले भरिभराउ रहेको यो रानीसैन लामो समयसम्म पाहुनाको पर्खाइमा रहे पनि यसको संरक्षण तथा प्रवर्धन भने अहिलेसम्म भएको छैन ।

आन्तरिक तथा बाह्य पर्यटकलाई निकै आकर्षित पार्दै आएको रानीसैन मनमोहक छ । रानीसैन एक विकट क्षेत्रमा पर्ने भए पनि यहाँ पुग्ने गरेका पाहुनाले भने स्वर्ग नै महसुस गर्ने गरेका छन् । 

यो ठाउँमा घुम्न र रमाउन जानेका लागि विभिन्न किसिमका भौतिक संरचना निर्माण गरिए यसले जिल्लाकै महिमा बढाउने स्थानीयको भनाइ छ । यहाँ न  बाटो न त बास बस्नका लागि भौतिक पूर्वाधार निर्माण गरिएका छन् । यो ठाउँ देख्नेबित्तिकै जोकोहीको मन लोभिने गरे पनि बास बस्ने व्यवस्था नहुँदा पाहुनाको पहुँचबाट टाढा छ । स्थानीयवासीले यसका लागि विभिन्न ठाउँमा पहलकदमी गर्दै आए पनि अहिलेसम्म सरकारले यसको संरक्षण गर्न सकेको छैन । 

जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका–३ मा रहेको रानीसैन लामो समयदेखि आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा रहँदै आएको  छ । छिमेकी जिल्ला बझाङको साइपाल र मानसरोवर जान रानीसैनबाट नजिक हुन्छ । बाहै्र महिना चिसो हुने यो ठाउँ निकै सुन्दर भए पनि यसको संरक्षण भने अझै नहुन सक्दा यसको अस्तित्व लोप हुँदै गएको छ । 

रानीसैन बाजुरा, हुम्ला र बझाङको बिचमा अवस्थित छ । यहाँ प्रत्येक वर्षमा बाजुरा र हुम्लाका बौद्ध धर्मालवम्बी जम्मा हुन्छन् । यहाँ एक ठुलो गुम्बा पनि छ । यसको व्यवस्थापनका लागि पालिकाले प्रत्येक वर्ष दुई लाख रुपियाँ छुट्याउने गरेको छ ।  

वर्षको एक पटक उनीहरू यो ठाउँमा अनिवार्य जम्मा हुने गरेकाले बास बस्न र खानसमेत सहज हुने गरी पालिकाले गुम्बालाई रकम छुट्याउने गरेको छ । यो ठाउँ झन्डै चार हजार चार सयदेखि पाँच हजार मिटरको उचाइमा छ । यहाँ चारैतिर ठुला हिमाल छन् । ती हिमालको फेदीमा छ रानीसैन । यसलाई बाजुराको उपत्यका पनि भनिन्छ । चारैतिर डाँडा अर्थात् सेता हिमाल र त्यसमुनि फैलिएको समथल भूभाग हो– रानीसैन । 

प्रकृतिको अनुपम यो ठाउँ देख्दा निकै आकर्षक छ । यो ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने हो भने जसरी राराले मुगुलाई चिनाउँछ, त्यसै गरी रानीसैनले पनि बाजुरालाई चिनाउने स्थानीयको भनाइ छ । 

यो ठाउँ जडीबुटीको समेत खानी हो । यहाँबाट यो जडीबुटी चोरी निकासी हुने भएकाले यसको तल सिमा सुरक्षा स्थापना गर्न अति आवश्यक छ  ।

उद्योग वन तथा पर्यटन मन्त्रालयमा धेरै पटक यसको संरक्षण र प्रवर्धनका लागि माग गर्दै आए पनि अहिलेसम्म कतैबाट केही सुनुवाइ नभएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनभुयो ।

हिउँको पुल

रानैसैनमा एउटा हिउँको पुल पनि छ । त्यो पुलबाटै रानीसैन जाने आउने गरिन्छ । रानीसैनमाथि ठुला हिमाल छन् । ती हिमालबाट हिउँ पग्लेर आएको खोला हो कवाडी । त्यो खोलामा पुल छैन । त्यही खोलाको माथिमा छ हिउँको पुल । तल ठुलो खोला बग्छ । त्यसको माथि छ हिउँको पुल । त्यही पुलबाट यहाँका बासिन्दा रानीसैनमा जाने आउने गर्छन् । यो पुल प्रकृतिको अर्को उपहार हो । त्यही खोलाको तल ठुला ठुला पुल छन् तर माथि भने हिउँको पुल छ ।