नवीनराज कुइँकेल
लमजुङ, फागुन १७ गते । लमजुङमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुले सात बुँदे सङ्कल्प प्रस्ताव पारित गरेका छन् । सदरमुकाम बेसीसहरमा सम्पन्न निर्वाचित जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेलामा विगतको समीक्षा गर्दै आगामी कार्ययोजना निर्माणका लागि सात बुँदे सङ्कल्प प्रस्ताव पारित गरिएको हो ।
पारित सङ्कल्पमा नीति कार्यक्रम र बजेट श्रमजीवीवर्गको पृष्ठपोषण गर्ने र समाजवादको आधार निर्माणमा सहयोग पुग्ने खालको बनाउने उल्लेख गरिएको छ । यसैगरी, विधानले व्यवस्था गरेअनुसार स्थानीय सभादलको नियमित बैठकपछि मात्र स्थानीय पालिकाहरुको बैठक आयोजना गर्ने र २०७९ को स्थानीय तह निर्वाचनमा सार्वजनिक गरिएको घोषणा पत्रअनुसार काम भए नभएको चालु आर्थिक वर्षमा समीक्षा गरी आगामी बजेट निर्माण गर्नेसमेत जनप्रतिनिधिले सङ्कल्प गरेका छन् ।
नेकपा (एमाले) ले नेतृत्व गरेका पालिकाहरुबाट भएका राम्रा कामहरुको जानकारी जनतालाई दिन, जनताप्रति जवाफदेही बन्न र कामको प्रचारप्रसार गर्न ‘पालिका मुखपत्र’ प्रकाशन गर्ने, चौमासिक रुपमा पालिका र वडा तहमा गरिएका गतिविधिहरुको लिखित जानकारी पार्टीमा दिने र पार्टीको वडा केन्द्रित अभियानमा जनप्रतिनिधिहरु अग्रपंक्तिमा रही पार्टीलाई जनताको बिचमा लोकप्रिय बनाउने सङ्कल्प प्रस्तावसमेत पारित गरिएको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेलामा एमालेका उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य एवम् लमजुङ इन्चार्ज जमीन्द्रमान घले, एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य मायानाथ अधिकारी, एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले प्रशिक्षण दिनुभएको थियो ।
भेलामा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्ब्लासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, सुन्दरबजार नगरपालिका उपप्रमुख भवानी केसी र मध्यनेपाल नगरपालिका उपप्रमुख सीता गुरुङलगायतले आआफ्नो पालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको एमाले लमजुङका अध्यक्ष राजकुमार विष्टले जानकारी दिनुभयो ।