दोलखा समाचारदाता
दोलखा, फागुन १७ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ को उत्तरी दुर्गमको विकट गाउँ रिकुमा भिर खोपेर बाटो पुग्न थालेपछि स्थानीय खुसी भएका छन् । जोखिम मोलेर विकट बाटो हिँडिरहेका रिकुवासीले पहरो खोपेर गाउँमा पैदलमार्ग जान थालेपछि खुसी भएको स्थानीय होमबहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अनकन्टार गाउँमा पैदलमार्ग निर्माण भइरहेछ । हामीले त सडक सञ्जालसँग यसरी जोडिन्छ भन्ने त चिताएकै थिएनौँ । जथाभाबी जङ्गल पहाड छिचोलेर गाउँ आइपुग्नुपर्ने समस्या टर्न थालेको छ । गाउँमै माथिल्लो तामाकोशी जलविद्युत्को रोल्वालिङ डाइभर्सन पनि निर्माण हुन थालेको छ ।” पैदलमार्ग निर्माणका लागि हेलिकोप्टरबाट डोजर ल्याइएको छ ।
स्थानीय एवं निर्माण मजदुर इन्द्रबहादुर थामीले भन्नुभयो, “कहालीलाग्दो भिर खोपेर बाटो बनाउँदै छौँ, गाउँमा आउजाउ गर्न सकिँदैन । यही त्रिपालमा बसेका छौँ । चिसोले सताएको छ । आफ्नै लागि हो भनेर ज्यान छाडेर भिरमा काम गरिरहेका छौँ । दुई मिटर चौडाको दुई किलोमिटर बाटो छिचोलिएको छ ।” अर्का मजदुर बुद्धिमान थामीले भन्नुभयो, “गाउँमा बाटो पु¥याउने आसले भिरमुनिको बास भएको छ ।” बिगु गाउँपालिका–१, लामाबगरदेखि गाउँसम्म बाटो जोडिन लागेको छ । बाटो खन्न साह्रै दुःख छ । प्वाल खोपेर डन्डी राखेर अर्को प्वाल खोपेर डन्डी राखेर यसरी माथि उक्लनु पर्छ । अर्का मजदुर गोपाल मगरले भन्नुभयो, “ठुलठुला गाडी त आउन सक्दैनन् होला मोटरसाइकल गुड्छ । ज्यानको बाजी थापेर अब पैदल हिँड्नु पर्दैन । सामान पनि सजिलै बोकेर ल्याउन सकिन्छ ।
जेनेरेटरलगायत बाटो खन्ने साधन बोकेरै लैजानु पर्छ । चारैतिर वन र पहरोले घेरेको गाउँमा २६ घरधुरी रहेका छन् । वडाको विशेष पहलमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लगानीमा यो बाटो बन्न लागेको हो । वडाध्यक्ष ङिमगेली शेर्पाले भन्नुभयो, “गाउँसम्म आउने चार किलोमिटर बाटो बन्छ । छ करोड लगानीमध्ये एक करोड ४७ लाखको ठेक्कामार्फत काम भइसकेको छ । कहाली लाग्दो भिरमा जोखिम मोलेर काम गर्नुपर्ने भएकाले सोचे जति काम हुन सक्दैन । जे होस् रिकुवासीले अब भिर खोपेर बनाएको बाटो प्रयोग गर्न पाउँछन् ।