गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १७ गते । भारतका गुजरातस्थित पञ्चदशनाम पञ्च अग्नि अखडाबाट आएका सन्त अघोरी शिवेश्वर गिरी रुद्राक्षको माला, चन्दन र दक्षिणा पाएपछि पशुपतिनाथ मन्दिर परिसरबाट शुव्रmबार बाहिरिने तयारीमा हुनुहुन्थ्यो ।
पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले दानदक्षिणा गर्दै गर्दा उहाँको मुहारमा चार दिनको पशुपति तीर्थयात्राको स्मृति र उल्लास सँगसँगै प्रकट भइरहेको थियो । जय भोले, जय बाबा पशुपतिनाथ भन्दै बाहिर निस्किएपछि उहाँले भन्नुभयो, “नेपालीको सद्भाव सधैँ सम्झिरहने छु ।”
गुठी संस्थानले न्यूनतम १५१ देखि अधिकतम १५ हजार रुपियाँसम्म र पशुपति क्षेत्र विकास कोषले त्यसको आधा दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरेको हो । सन्त गिरी पहिलो पटक आउँदा पनि पशुपतिनाथ मन्दिरमा भव्य स्वागत पाउँदा र जाने बेलामा दक्षिणा पाएपछि खुसीले भावविह्वल हुनुभयो । उहाँले भन्नुभयो, “देवोका देव महादेव, पशुपतिनाथको दर्शन गर्ने सौभाग्य पाएँ । भारतको सन्त समाजका तर्फबाट आभार व्यक्त गर्छु । दक्षिणाको मोह छैन तर जाने खर्च पायौँ, अब फर्किन्छौँ ।”
साधुसन्तका लागि महाशिवरात्रि पर्व विशेष हुन्छ । साधुसन्तका लागि भनेर भारतमा १३ वटा अखडा व्यवस्थापन गरिएको छ । साधुसन्तको परिचालन ती अखडाबाटै हुन्छ । अखडाको प्रमुख महन्थहरू र धार्मिक गुरु हुन्छन् ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार महाशिवरात्रि पर्व मनाउन छ हजारभन्दा बढी साधुसन्त नेपाल आए । उहाँले भन्नुभयो, “गुठी संस्थानले साधुसन्तको वर्गीकरण गरेर दक्षिणा दिने गरेको छ । संस्थानले दिएको रकमको आधा कोषले दिने र बिदा गर्ने गरिएको छ ।”
‘अरू कुलतमा नफसून्’
सन्त गिरी जस्तै अर्का अघोरी दिव्यनाथ पनि भारत प्रस्थान गर्नुभयो । पशुपतिनाथ मन्दिरबाट बिदा हुनुअघि उहाँले साधुसन्त गाँजा, भाङ, धतुरोको लतमा हुन्छन् भन्ने विषयमा प्रस्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, “समाज कल्याण, लोकहितका लागि परिवार त्यागेर तपस्यामा लागेको हो । परम्परा नै भन्नु पर्छ, साधुसन्तले गाँजा खान्छन् । हामी समाजबाट भिन्नै बसेर हाम्रा व्रिmयाकलाप गर्छौं । हाम्रो कामना छ, अरू युवा कुलतमा नफसून् ।”
उहाँले पशुपतिनाथ मन्दिरमा पछिल्लो १० वर्षदेखि निरन्तर आइरहेको बताउँदै भारतका नागरिकलाई नेपाल आउनका लागि प्रचारप्रसार पनि सन्त समाजले गर्ने गरेको बताउनुभयो । उहाँले नेपालको समृद्धि हुँदा साधुसन्त समाज खुसी हुने र धार्मिक, सांस्कृतिक सम्बन्धका दुई देशबिच सहकार्य अझै प्रगाढ बनाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी आउँछौँ, जान्छौँ । साधुसन्तले पशुपतिनाथको दर्शन गर्ने मात्रै हो । हाम्रो सोच र संस्कार मिल्छ । आर्थिक रूपमा पनि जनता समान नै छन् । साधुसन्तको आफ्नो घर हुँदैन तर पशुपतिनाथ मन्दिर आउँदा, नेपाल आउँदा घरै आए जस्तो लाग्छ ।”
जनकपुरधामस्थित शिव हनुमान मन्दिरबाट रामकैलाश सिङ्गारी बाबा साधुसन्तको अगुवाइ गरेर आउनुभयो । आफूसँग आएका साधुसन्तलाई पशुपतिनाथ मन्दिर दर्शन गराउनुभयो । उहाँसँग नेपाल र भारतका साधुसन्त पनि आउनुभएको छ । उहाँले भन्नुभयो, “सबैलाई दानदक्षिणाको व्यवस्था गराएँ । फर्किंदा उल्लास र भगवान्को आशीर्वाद लिएर फर्किंदै छौँ ।”
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार साधुसन्तको बिदाइको काम शुव्रmबार सुरु भई शनिबार र आइतबार पनि चल्ने छ । उहाँले गुठी संस्थानले दुई हजार ३६१ जना र कोषले थप एक हजार दुई सय जनालाई दानदक्षिणा प्रदान गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गुठी संस्थानले अखडाबाट आएका र मन्दिरभित्र बस्ने साधुसन्तलाई मात्रै दक्षिणा दिने गरेको छ । कोषका तर्फबाट बाहिर बस्ने र संस्थानको दर्तामा समावेश नभएका साधुसन्तलाई पनि दक्षिणा प्रदान गरिन्छ । शुव्रmबार बिदाइका व्रmममा छुटेका साधुसन्त आउनुहुन्छ । आइतबारसम्ममा सबै साधुसन्तको बिदाइ हुन्छ ।”