• १७ फागुन २०८१, शनिबार

फोनिज मधेशको साधारण सभाको तयारी पूरा

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, फागुन १६ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभा शनिबार बाराको कोहल्वीमा हुँदैछ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश समितिले जनाएको छ । 

साधारण सभाको उदघाटन मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले शनिबार बिहान गर्नुहुने प्रदेश अध्यक्ष दुष्यन्त चौधरीले बताउनुभयो । प्रदेशको आठवटै जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका फोनिजका सदस्यहरू तथा विभिन्न पत्रकार संघ संस्थाका प्रतिनिधिहरूसहित ६० जनाको सहभागिता रहने फोनिजका प्रदेश अध्यक्ष चौधरी जानकारी दिनुभयो ।

मधेस प्रदेश साधारणसभाका लागि फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा र महासचिव समिर बलामी बाराको कोल्हबी आउनुभएको छ । 

पत्रकार सम्मानित हुने

सो अवसरमा पत्रकारितामा योगदान दिएका फोनिजका चार जना पत्रकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको फोनिजका प्रदेश महासचिव बृजमान तामाङले बताउनुभयो ।

उहाँले देवनारायण गनिया स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार राससका बारा प्रतिनिधि सत्यप्रसाद श्रेष्ठ र सामुदायिक रेडियो सर्लाहीमा कार्यरत रिना आलेलाई प्रदान गरिने जानकारी दिनुभयो ।

यस्तै क्रिएटिभ क्रियाशील पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकको जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरी र पूर्वेली दृष्टि साप्ताहिकका सम्पादक तथा पब्लिक प्रेस दैनिकका सह–सम्पादक डम्बर राईलाई प्रदान गरिनेछ । पुरस्कृत पत्रकारलाई १० हजार राशिसहित सम्मान गरिने छ ।