धर्बेन्द्र झा
जनकपुरधाम, फागुन १६ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामको कला संस्कृति पुरानो रहेको भन्दै यसको प्रचारप्रसार भए पर्यटक बढ्ने र यसले प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्वाद फाउण्डेसनको आयोजनामा शुक्रबारदेखि सुरु भएको तीन दिवसिय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाज परिवर्तनमा सिनेमा समेत प्रभावकारी माध्यम भएको भन्दै यस प्रकारको महोत्सवले मिथिलाको कला संस्कृतिलाई विश्व बजारमा पुर्याउनमा मद्दत पुग्ने बताउनुभयो । उहाँले अभिभावकले आफ्ना बालबालिकाको हुनर पहिचान गरी अगाडि बढाउनुपर्ने भन्दै उहाँले यस प्रकारको महोत्सवहरु जनकपुरधाममा हुँदा कलाकारहरु पनि उत्पादन हुने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री जुली महतोले जनकपुरधामको विश्वमा छुट्टैै पहिचान भएको भन्दै यहाँको कला संस्कृतिको साथसाथै यसको गरिमा धेरै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले जनकपुरधाममा पनि फिल्मको छायाँकन हुन सक्ने किसमको वातावरण तयार गर्नका लागि सबैको सहयोग आवश्यक भएको जानकारी दिनुभयो । उहाँले जनकपुरधामको विकासमा धेरै पूर्वाधारको आवश्यकता रहेको भन्दै ति पूर्वाधारहरु निमार्णका लागि तीनतहकै सरकारको सहयोग आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकुमार यादवले नेपाली फिल्मलाई समेत विश्व बजारमा पुर्याउनका निमित यस प्रकारको महोत्सवको आवश्यकता रहेको भन्दै हाम्रा धार्मिक, सांस्कृतिक र परम्पराहरुलाई सिनेमाका माध्यमबाट विश्व समुदायलाई देखाउन सकिने बताउनुभयो । नेपाली कांग्रेसका नेता एवम् प्रदेशसभा सदस्य राम सरोज यादवले समाजमा रहेका विकृतिहरु अन्त्यका लागि चेतना जगाउने काममा सिनेमा सबैभन्दा सबल माध्यम रहेको जिकिर गर्नुभयो । नेकपा (एमाले)का युवा नेता एवम् प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुरले जनकपुरधाम एउटा ऐतिहासिक ठाँउ भएकाले यसको विशेषतालाई विश्व समक्ष पुर्याउने काममा सिनेमाको महत्त्वपूर्ण स्थान हुन सक्ने बताउनुभयो ।
विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष ज्योतसना साउदले सिनेमा समाजको चित्र देखाउने सबै भन्दा सशक्त माध्यम भएको भन्दै यो महोत्सवले सिनेमा उद्योगलाई नयाँ उचाइमा पुर्याउने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नु भएका संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा मैथली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीसहितकाले महोत्सवको सफललताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो । मैथिली विकास कोषको भवनमा तीन दिन सम्म चल्ने उक्त महोत्सवमा दस विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिने छ ।